तस्बिर लिने एक साधन हो क्यामेरा , जस्तो छ उस्तै देखाइदिनु क्यामेराकोे धर्म । क्यामेरा शब्दले होइन तस्बिरले बोल्छ । यसले काल्पनिकता भन्दा यथार्थतालाई मात्र आफूभित्र तान्ने गर्दछ । त्यसैले क्यामेरामाथि सबैले विश्वास गर्दछन् । विडम्बना विज्ञानको नटखटले आजभोलि क्यामेरामाथि मेरो विश्वास घट्दै गएको छ । कतिपय चकचके फिल्मी नाटककारजस्तो बालकलाई बुढो र बुढोलाई तन्नेरी बनाइदिने प्रवृत्तिले गर्दा क्यामेराप्रति मेरो विश्वास घटेको छ । कर्णालीका सुकिला मान्छे नदेखेका पहाडहरु पश्चिमी मुलुकका गोरा चिल्ला घुम्ने शहरहरुमा ठड्याइदिँदा, गाउँबाट कहिल्यै सतबाँज चौराहा पार नगरी ग्वाल्लेकका बाँजबुरुँज काटिरहेकी मेरी आमालाई मनकामना चड्दै गरेको देखाइदिँदा क्यामेराको नियतमाथि सङ्का लाग्न थालेको हो । महादेवले दक्षको टाउकोमा बोकाको टाउको जोडेजस्तै हाम्रा लोकप्रिय नेताहरूलाई तीजको महान अवसर पारेर साडी र चुरापोते लगाइदिएको देखेर होला क्यामेरा सितको मेरो सम्बन्ध घट्दै गएको ।
मैले देखेको मेरो गाउँ र राजधानीको क्यामेराले लिएको तस्बिर नियालेर हेर्दा म निकै फरक देख्छु । राजधानीको क्यामेराले लिएका तस्बिरहरुमा मेरो गाउँ मेरो गाउँजस्तो छैन् । प्रकृतिको अनुपम छटाहरुले हाँसेको मेरो गाउँलाई निराश र करुण देख्छु ती तस्बिरहरुमा । नारीहरुलाई लक्ष्मीको प्रतीक मानेर भोजनको पहिलो गास ग्वानेकका रुपमा खुवाएको, गौरामा सासुससुरा पति पतिले समेत बुहारी र पत्नीबाट आर्षिवाद थप्ने गरेको तस्बिर कहिले खिचिदिएन क्यामेराले बरु शयौँ वर्ष पुराना र वर्तमानमा अस्तित्व नै नभएका देउकी प्रथा र छाउपडिका काल्पनिक तस्बिर बनाएर मेरो सुदूरधर्तिको सुन्दर तस्बिरमा धब्बा लाइदिएको देख्दा अचम्म लाग्छ राजधानीको मेरो गाउँप्रतिको नजरिया प्रति ।
राजधानीलाई साहु अक्षर सिकाउँने जयपृथ्वी बहादुर सिंहको गाउँकै तस्बिरमा अन्धकार पारेर अशिक्षित, पिछडिएको, रुढीवादीले भरिएको समाज भनेर तस्बिर तस्बिर बनाइयो । नेपाली भाषालाई नै जन्म दिने यहाँको भाषालाई पाखे भाषा भनेर चिनाइयो । राज्यको एकीकरणकालमा गोर्खाली सेनालाई कठपत्यामा हराएको हाम्रा बीरहरुका तस्बिर कसैले खिचिदिएन, उनीहरुको इतिहास कसैले लेखिदिएन । संसारमै बीर कहलिएकाहरुले घुँणा टेक्ने अवस्था आएपछि चतुर फ्याउराहरुले मित्रताको हात बढाएर आफ्नो काम निकाली मित्रकै शिकार गरे । देशमा प्रजातन्त्र ल्याउन आफ्नो ज्यानको बाजी लगाउने बीर सहिद यही माटोले दियो । मेरो गाउँको तस्बिरमा राजधानीको क्यामेराले देखाइदिएको छुवाछुत र भेदभावले ग्रस्त समाजको तस्बिरमा नेपालमा स्वतन्त्रता, समानता र नेपालमा कम्युनिष्ट विचारधाराको जन्म दिने शहीद भीम दत्त पन्त तस्बिर कहिले पनि देखाइएन । नारीको दमन मात्र देखाइएको तस्बिरमा नेपालमै पहिलो पटक महिला मन्त्री बनेकी द्वारिका देवी ठकुरानीका तस्बिर छर्लङ्ग पारी देखाइएन । पटक पटक देशकै उच्च नेतृत्व सम्हालेका व्यक्तिहरुलाई पनि केवल हेयको दृष्टिले मात्र हेरियो । यस क्षेत्रको भाषा, संस्कृति र इतिहासलाई हरेक समयमा केवल बङ्ग्याएर मात्र हेरियो । शदियौँ देखि यस क्षेत्रमा रहेका प्राचीन मन्दिर, तीर्थस्थलहरुको वर्णन त्यहाँका शास्त्रहरुमा हुन सकेन । यहाँको प्रचीन वास्तुकला कलाका रुपमा कहिल्यै देखिएन । राज्यले सधैँ उपेक्षा गरेका यहाँका कर्मबीरहरुका कथा कहिल्यै लेखिएनन् । वास्तविक मेरो गाउँको तस्बिरलाई इडिट गरी राजधानीको चाहाना अनुसारको इडिटिङ गरी देखाइएका तिम्रा तस्बिर मेरो गाउँसँग मिल्दैनन् । तिमीले खिचेका तस्बिरहरुमा पाटन र जोरायलको मिनी उपत्यका छैन्, अपी शैपालको मुस्कान छैन् । खप्तड, ग्वाल्लेक, रौला, रामारोसन, साँपेको सुन्दरता छैन, ईश्वरी गंगाको पवित्रता छैन, सेती, काली र कर्णालीका सुन्दर बगरहरु छैननन् , पत्तालभुमेश्वरको श्वर्गको द्वार छैन । यस्ता कयौँ देखिनुपर्ने तस्बिर र लेखिनुपर्ने इतिहास छनै, देखिएका छन् त केवल छाउपडी र देउकी प्रथाका अस्तित्व हराएका र हराउन लागेका तस्बिरहरु ।
पुरै क्यामेराको दोष पनि कसरी भनौँ मोबाइलले टिभी देखि लिएर घडी क्याल्कुलेटर देखि लिएर बिज्ञान जगतका सबै काम आफै गर्न थालेबाट क्यामेरालाई पनि आफूभित्र कैद गर्दा कता कता मेरो देशसँग विज्ञान पनि मिलेको भान हुन्छ । हो पनि मेरो देशमा आजभोलि मानव अधिकार देखि लिएर अख्तियार, पत्रकार सबै बिचराहरूलाई नेताज्यूले कैद गरेझैँ क्यामेराले पनि सुख पाएको छैन । यसरी मोबाइलको दाश बन्न पुगेको क्यामेराले चौरी गाईका जस्ता रौँ भएकी मेरी दिदी फिलिममा खेल्ने नायिका तथा विश्व सुन्दरीको पर्तिस्पर्धामा केलाका थुम जस्ता चिल्ला तिघ्रा बनाएकी सुन्दरी भन्दा कम देखिएकी छैन । जे होस् क्यामेरा जस्तो भए पनि यसको काम आफू अगाडि परेको वस्तुको तस्बिर लिने हो । यो त भयो क्यामेराको ब्युटीपार्लरीय गुण तर एक कुरा सुन्दा तपाईलाई अचम्म लाग्ला यसो विज्ञानको चमत्कारले भरिएको समयमा पुग्दा समेत मेरो गाउँले क्यामेरा देखेको छैन । अर्को शब्दमा भन्नुपर्दा मेरो कर्णालीवारीको प्रदेश क्यामेरामा अटाउँदैन । क्यामेराकै कारण तरकारीवाली तिघ्रावाली बनीसकी तर मेरो गाउँमा अझै अरुकै फोटा हेरेर चित्त बुझाइन्छ । खास कुरो के भने राजधानीको क्यामेराले अझै मेरो गाउँ देखेको छैन ।
विज्ञानले खुमच्याइदिएको धर्ती गुगल म्यापमा हेर्दा सेतो कमेरो र रातो माटोले लिपेको मेरो घर मैले मेरै आँखाले देखेको हुँ तर राजधानीका क्यामेराले कर्णाली वारी आँखा देख्दैन । हुन त क्यामेराकै के दोष हामीले नै नेता बनाइदिएका हाम्रै मन्त्री महाशयले हाम्रो गाउँको बाटो बिर्सिसके भने त्यो त आँखिर के हो र ? यसो भन्दा कतिपय विद्वान मित्रहरूलाई दुःख लाग्ला दुधको दुध पानीको पानी छुट्याउने एक मात्र साधन क्यामेरा त हो भनेर, तर पनि मेरो गुनासो हो क्यामेरा प्रति । जब राष्टपतीका छोरा छोरीको बिहेमा राजाले भोज खाएका तस्बिर खिचेर मेरो गाउँमा पठाउँदा हामी कर्णलीवारीकाहरूको करोडौँ पैसा लैजान मैले देखे तब मलाई पनि लागेको थियो एकै फोटो मात्रै भएपनि हाम्रो गाउँको लगिदिएको भए तर उसो भएन । राजधानीका फोटा किन्ने हामी मूर्ख कति सोझा त्यति पैसाले त पुरै विश्वको फुटो खिच्ने ठूलो क्यामेरा किन्न सकिन्थ्यो, हामी पनि आफ्ना फोटा खिच्थ्यौ । ग्वालेकका मृगहरूसँगै चर्ने बाघ, रुखको टुप्पपो गीत गाउँदै स्याउला काटिरहेकी मेरी आमा, गौरा मा ढोलक र मिजुरा सँगको ढुस्को, धुमारी, तल्ला दे, मल्ला देकी जात, पत्तालभूमेश्वरको गुफा, पाटनसेराको किनारमा सुसेली हाल्दै बगेकी सुर्नया, खप्तड, अपी शैपाल अनि दोधरा चाँदनीको मन लोभ्याउने झोलुङ्गो आदि आदि आहा ! कस्ता देखिन्थे होला । बर्सादमा कालीले बगाएको मेरो गाउँ, बाटो नपाएर भिरमा हुत्तीएका गाडी शायद यस्ता तस्बिर खिच्न घिन लाग्छ होला राजधानीको क्यामेरालाई । हुन त राजधानीको भन्नु मात्रै हो पोहोर साल म काटमाण्डौ जाँदा सडकका किनारामा बसेका अन्धा अपाङ्गहरूले जिविका चलाउँन देकाउँदै गरेका कला पनि कम थिएनन् तिनलाई कसले हेरोस् , बरु पाँचतारेहरूमा वैशले मत्तिदै अर्धनग्न भएकी तिजकुमारीका तिघ्राको फोटो मेरो गाउँमा पनि नपठाएको होइन । त्यसमा मेरो आपत्ती होइन मेरो गुनासो भने व्यापारको को हो । व्यापार दुईथरीबाट समान हुनुपर्छ । व्यापार त त्यो राम्रो जसले त्यो ठाउँको कच्चा पदार्थ र स्थानीय निर्माण सामग्री खरीद पनि गरोस नयाँ निर्माण सामग्री उपलब्ध पनि गराओस् । यो त कस्तो एकोहोरो व्यापार राजधानीका तस्बिर बेच्दै हिड्ने हाम्रो फुटो कहिल्यै नखिच्ने । यसो भन्दा एक जना काठमाण्डौबासी साहित्यकार मित्रको भनेको कुरा याद आउँछ, चर्चामा आउँन त पर्चा पनि राम्रो हुनुप¥यो नी त्यत्तिकै राजधानीले ठाउँ दिएन भनेर हुन्छ । यसो भन्दा हाम्रा पर्चा हेर्छ कसले र भन्न मन लागेको थियो कही भनेन केवल उनका टेडामेडा पर्चाका चर्चा सुनिरहे मात्र । गुणस्तर खोज्न गाउँ जानुपर्छ मित्र बजारमा डेरीको दुध जस्तै हो हाम्रो जङ्गलका काँफल बजारका सुन्तला भन्दा रसिला हुन्छन् खाएर त हेर्नुस भन्ने थिए त्यो भिडमा मलाई कसले सुनिदेओस् । तपाईको शहरमा गाईगोरु तुहिदा सामाचार बन्छ मेरो गाउँकी हजारौँ आमाहरूका पाठेघर काटिएका कोले हेरिदेओस् ।
इतिहासका कुरा पनि त्यस्तै हुन महाभारतको युद्धताका बनेका देवलहाटका मन्दिर हुन या बाइसे चौबिसे राज्यका पालाका अजयमेरु कोट हुन यिनको इतिहास कतै पढिएन बरु राजधानीमा चार दिन भनेर कहिले नदेखेका कुराहरूमा भाई बहिनी हो तिमीहरूले देखेकै हौला भन्ने शब्दबाट सुरुवात गरिएका यात्रा संस्मणहरू पढ्दा कति गाह्रो भएको थियो मलाई । यसो भन्दा मलाई राजधानी बिरोधीको आरोप नलागोस यसो कदापी होइन मलाईृ मेरो देशको राजधानी प्रति मलाई गर्व छ । मेरो गुनासो त केवल मुखमात्र धोएर टिका लाउने प्रवृति प्रति हो, पुरै शरीर समान रुपले ननुहाइने तितो यथार्थ प्रति हो । मदन पुरस्कार पाउनु अघि रामलाल जोशीको तस्बिर कसैले खिचिदिएन । खाना र घरपरिवारलाई दोस्रो प्राथमिकतामा राखी साहित्यिक संस्था, पत्रिका पत्रिका सञ्चालन गरी राज्यले गर्न नसकेको काम गर्ने साहित्यकार बिचराहरूलाई त कसले देखोस ? यसो भन्दा क्यामेराले पनि गुनासो गर्ला हामीलाई पो कसले हेर्छ र आँखिर मेरो गुनासो गर्ने ठाउँ कहाँ हो त फेरी । सुदूर पश्चिमको भाषा र इतिहासका कुरा पूर्वका मान्छेले गर्छ मस्त सित पत्रिकाको हेडलाई बन्छ, क्यामेराले तस्बिर लिएर भाइरल बनाइदिन्छ । तर सुदूरपश्चिममै बसेर भाषा साहित्यको सेवा गरिरहेका कयौँ भाषा साहित्यका साधकहरू अध्यारोका जुनकिरी नै हुन्छन् ।
म सगरमाथाको उचाइले के गरुँ मलाई मेरो ग्वाल्लेकको उचाइ नै थाहा छैन । समग्रमा मेरो मोह मेरो भाषा र साहित्य र संस्कृति प्रति हो, मेरो इतिहास प्रति हो, मेरा पर्यटकीय स्थल प्रति हो । मेरो गुनासो एकोहोरो व्यापार प्रति हो । मलाई मेरो गाउँका फोटाहरू खिचाउने रहर हो । जहाँ सम्म राजधानीको कुरो छ मेरो देशको राजधानी संसारकै सबै देशको राजधानी भन्दा राम्रो बनोस यसमा म खुशी हुनेछु । सुन्दर त तब बन्ला जब मेरा गाउँका सुन्दर तस्बिरहरूले सजिएला । मेरा देउडा र ठाडीभाका गुञ्जेलान, गौरा देवीले ढुस्को खेल्दै रमाउलिन, अपी शैपालको शितलता मिल्ला, खप्तडले आफ्नो काखको माया देला तब राजधानी मेरो राजधानी बन्ला । समग्रमा राजधानीको क्यामेरालाई मेरे आग्रह हो कुनै समय मेरो गाउँमा पनि घुम यहाँ राजधानीलाई लजाउने तस्बिरहरू छन् । यहाँको सुन्दरताले तिमीलाई पक्कै लोभ्याउने छ । तस्बिर मात्रै पूर्ण होइन त्यसको सुन्दरताको बयान गर्ने भाषा साहित्यका पारखी बिना त्यो पनि निरस नहोला भनन सकिन्न । यहाँ पनि कयौँ सुन्दर काम भइरहेका छन्, सुन्दर गीत गुञ्जिरहेका छन् । यहाँ पनि चन्द्रमा छुन दौडिएकाहरूको भिड छ । यही गुनासो पोखे निबन्ध बन्यो या लेख, मैले यसलाई चिठी सम्झेको छु । सायद निबन्धलाई चिठी सम्झिनुले नै मलाई राजधानीले मन पराउँदैन होला । यस्तै छ राजधानीको क्यामेरा र मेरो गाउँ ...............।
.gif)