महेन्द्रनगर । ग्रामीण भेगमा गहुँको खरिद बिक्री प्रतिक्विन्टल ४ हजारदेखि ४२ सयमा भइरहेको छ। तर गहुँ खरिद गर्ने सरकारी निकाय खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले गहुँको मूल्य बजारमा चलनचल्तीभन्दा कम निर्धारण गरेको छ। जसका कारण हालसम्म लिमिटेडले गहुँ खरिद नै गर्न सकेको छैन।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले निर्धारण गरेको मूल्यले व्यापारीले दिइरहेको मूल्यसमेत घटाउने काम भएको कृषकहरू बताउँछन। कम्पनीले यस वर्ष गहुँको मूल्य प्रतिक्विन्टल ३ हजार ३ सय रुपैयाँ ५१ पैसा निर्धारण गरेको छ। केन्द्रकै निर्देशन अनुसार जिल्ला खरिद समितिले चैत १४ मा मूल्य निर्धारण गरी चैत १६ देखि खरिद गर्ने निर्णय गरेको थियो । तर हालसम्म गहुँ खरिद सुरु नै नभएको कम्पनीका निमित्त प्रमुख तपेन्द्र उपाध्यायले बताए। ‘हाम्रो भन्दा बढी मूल्य बजारमा छ, त्यही भएर हामीकहाँ गहुँ आएको छैन ।’ उनले भने( ‘हामीले मूल्य निर्धारणको निर्णयमा पनि बजार मूल्यबारे लेखेर पुनर्विचार गर्न पनि आग्रह गरेका छौं।’ कम्पनीले गतवर्ष पनि गहुँ खरिद गर्न सकेको थिएन ।
मूल्य निर्धारणसम्बन्धी निर्णयमा बजार दर रेट ४ हजार हाराहारी रहेको उल्लेख गरी कम्पनीको केन्द्रीय कार्यालयमा पठाएको उपाध्यायले बताए। गहुँ खरिदका लागि कम्तीमा एक हजार हाराहारी मूल्य बढाउनुपर्ने उपाध्यायले बताए । ‘हामीले ३८/४० सय देखि ४२ सय रुपैयाँसम्म प्रतिक्विन्टल गहुँ बिक्री गरिरहेका छौं ।’ बेदकोट नगरपालिका(७ का विष्णु भट्टले भने ‘मूल्य अझै बढ्न सक्छ।’ अढाई बिघामा गहुँ खेती गरेका उनले यस वर्ष गाउँमै गहुँ बिक्री गरेको बताए। यस वर्ष विगतभन्दा राम्रो उत्पादन भएको उनको भनाइ छ।
‘खाद्यले बजारको भन्दा कम मूल्य तोकेको छ, यसले किसानभन्दा व्यापारीलाई फाइदा पु¥याउँछ ।’ भीमदत्त नगरपालिकाका कृषक जनक जोशीले भने, ‘यसले हामीले पाइरहेको मूल्य पनि घट्छ।’ चैत पहिलो सातासम्म गहुँको मूल्य ४५ सय प्रतिक्विन्टल पुगेको थियो। भारतबाट गहुँ आयात रोकिँदा यहाँ गहुँको मूल्यप्रति क्विन्टल ५५ सय समेत पुगेको थियो।
कञ्चनपुरमा यस वर्ष ३२ हजार २ सय १० हेक्टरमा गहुँखेती गरिएको छ। समयमै मलखादको उपलब्धता र वर्षा भएका कारण यस वर्ष गहुँको उत्पादकत्व बढने अनुमान छ। गतवर्ष जिल्लामा गहुँको उत्पादकत्व ३ मेटिूक टन प्रतिहेक्टर थियो। यस वर्ष साढे ३ मेटिूक टन पुग्ने अनुमान छ। बीउदेखि जोताइ, मलखाद कटाई चुटाइको मूल्य बढेका कारण खाद्य व्यापार कम्पनीले निर्धारण गरेको मूल्यले घाटा हुने किसान बताउँछन ।
.gif)