सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरमा श्रम स्वीकृति अब स्थानीय तहबाटै


पश्चिम प्रेस
मंगलबार, वैशाख १२ २०८०
  • 523
    Shares

  • images
    images
    कञ्चनपुरमा श्रम स्वीकृति अब स्थानीय तहबाटै

    महेन्द्रनगर ।  कञ्चनपुरमा स्थानीय तहबाटै श्रम स्वीकृति प्रदान गर्न थालिएको छ । यहाँका बेदकोट नगरपालिका र भीमदत्त नगरपालिकाले श्रम स्वीकृति प्रदान गर्न थालेका छन् । नगरपालिकाले वैदेशिक रोजगारमा जान चाहने स्थानीय नागरिकले नगरको रोजगार सेवा केन्द्रबाट श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था मिलाएका हुन् ।

      सोमबार भीमदत्त नगरपालिकाले दुईजना स्थानीयलाई श्रम स्वीकृत प्रदान गरेको छ । वडा –९ का आनन्द सिंह रावत र वडा नं ८ भवान सिंह भण्डारीलाई नगरको रोजगार सेवा केन्द्रमा आवेदन गरी श्रम स्वीकृति प्राप्त गरे । श्रम स्वीकृति लिनका लागि काठमाडौँ जानुपर्ने बाध्यता हटेको सेवाग्राही बताउँछन । “काठमाडौँ पुग्न बढी खर्चिलो झन्झटिलो हुन्थ्यो”, भीमदत्त नगरपालिकाका उप–प्रमुख नीलम लेखक जोशीले भने, “स्थानीय तहबाटै श्रमस्वीकृति पाउन थालेपछि धेरै नै सहज भएको छ ।” 
     पालिकाबाटै श्रम स्वीकृत आनन्द सिंह रावतले छिटो सेवा पाएकामा खुसी व्यक्त गरे । “पहिला श्रम स्वीकृत लिन काठमाडौँ जानुपर्ने, त्यहाँ आउँदा जाँदा धेरै खर्च हुन्थ्यो”, रावतले भने, “अहिले घर छेउबाटै छोटो समयमा सेवा लिन पाउँदा खुसी लागेको छ ।”

     भीमदत्त नगरपालिकाका रोजगार संयोजक मीनबहादुर महराले सरकारले गरेको व्यवस्थाअनुसार स्थानीय तहबाटै सेवा सुरु गरिएको बताए । गत चैत १६ गते मन्त्रिस्तरीय निर्णयबाट वैदेशिक रोजगारमा जान चाहने नागरिकले सम्बन्धित स्थानीय तहबाटै श्रम स्वीकृति लिने व्यवस्था गरिएको थियो । “सरकारले स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रलाई वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मा जोडेको छ”, महराले भने, “विदेश जानका लागि अनलाइन आवेदन भर्न नसक्नेका लागि निःशुल्क रुपमा आवेदन भरिदिने व्यवस्थासमेत गरेको छ ।”


  • सम्बन्धित विषय:

  • # श्रम स्वीकृति
  • प्रतिक्रिया दिनुहोस