बिहीबार , जेठ २५ गते २०८० || Jun 8, 2023

कडीपत्ता बेचेर जीवन निर्वाह गर्दै कञ्चनपुरका ७३ वर्षिय रङ्गे बुढा


पश्चिम प्रेस
शुक्रबार, वैशाख २९ २०८०
  • 1.3K
    Shares

  • images
    images
    कडीपत्ता बेचेर जीवन निर्वाह गर्दै कञ्चनपुरका ७३ वर्षिय रङ्गे बुढा
    images
    images

    कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लाका रङ्गे बुढा ७३ वर्ष भए । उनी डेढ दशकअघि डडेल्धुराबाट बसाइँ सरी खल्ला झरेका थिए । जङ्गलमा पाइने कडीपत्ता बिक्री गरेर बुढाले जीविकोपार्जन गर्दै आइरहेका छन् ।

    “छोराहरू स्वदेशमा काम नपाएर विदेश गएका छन्, घरमा म एक्लै छु”, उनले भने, “खल्लामा बस्न थालेपछि यहाँको वनमा पाइने कडीपत्ता बेचेर जीवन निर्वाह गरिरहेको छु ।” टुँडिखेलका लोकबहादुर थापाले पनि यसलाई आम्दानीको स्रोत बनाएका छन् । बस्ती नजिकैको वनबाट सङ्कलन गरेर भारतमा बिक्री गर्ने उनले यसबाट मनग्य आम्दानी गर्छन् । “पत्ता सङ्कलन गरेर भारतमा बिक्री गर्छौँ, यो काम गर्न थालेको धेरै भयो”, उनले भने, “उब्जाउ हुने जमिन छैन, खेतीपाती हुँदैन, यसैबाट रासनको जोहो गर्नुपर्छ ।”

    चुरे भेगमा पर्ने भीमदत्त नगरपालिका–९ को खल्ला, मुसेट्टी र टुँडिखेलका स्थानीयको आम्दानीको स्रोत कडीपत्ता बनेको छ । कामका लागि विदेश वा अन्यत्र नगएका यहाँका स्थानीयले कडीपत्ता बेचेरै गर्जो टार्ने गरेका छन् । उनीहरु सीमावर्ती भारतीय बजार टनकपुरमा यसको बिक्री गर्छन् । बिक्री गरेर पाएको रकमले खाद्यान्न किनेर उनीहरू फर्किने गर्छन् ।

    कडीपत्ता सुगन्धित मसलालगायत प्रयोजनका लागि प्रयोग गर्ने गरिन्छ । भारतीय बजारमा यसको माग धेरै रहेको लोकबहादुर बताउँछन् । “सिँचाइको सुविधा छैन, आकाशको पानीको भरमा खेती गर्नुपर्छ”, उनले भने,“‘छ महिना खान पनि अन्न पुग्दैन, पत्ता बेचेर रासन किन्छौँ ।”

    यसबाट मासिक रु १५ हजारसम्म आम्दानी हुने गरेको सुरेन्द्र कठायतले बताए । उनका अनुसार सुरुमा कडीपत्ता काटेर घाममा सुकाइन्छ । त्यसपछि पात छुट्याएर बिक्रीका लागि लैजाने गरिन्छ । “३५ रुपैयाँ भारु प्रतिकेजीका दरले बिक्री हुन्छ, सुकाएर पत्ती छुट्याएपछि बोरामा राखिन्छ”, उनले भने, “एक बोरामा ३५–४० केजीसम्म अटाउँछ, काटेपछि पत्ता दुई पटकसम्म पलाउँछ ।”

    वनमा पाइने कडीपत्ताबाट आम्दानी हुन थालेपछि स्थानीयले खेतमा पनि रोप्न थालेका छन् । वनमा बेला–बेलामा हुने आगलागीले योलगायत जडीबुटी जलेर नोक्सान भइरहेको स्थानीय धौली पवित्रा बोहराले बताइन् । “हामीसँग धेरै जडीबुटी छन्, तर चिन्न सकेका छैनौँ”, उनले भनिन्, “डढेलोले आम्दानीको स्रोत नोक्सान भइरहेको छ, समयमै स्रोतको पहिचान गरेर सदुपयोग गर्न सकिए राम्रो हुन्थ्यो ।


  • सम्बन्धित विषय:

  • # कडीपत्ता
  • प्रतिक्रिया दिनुहोस
    images