महेन्द्रनगर । देउडा र रतेडी सुदूरपश्चिमका पहिचान हुन् । कुनै बेला गाउँघरमा विवाह, व्रतबन्धजस्ता कार्यक्रममा रातभरि खेलिने देउडा र रतेडी आजभोलि त्यति देखिँदैन । देउडा र रतेडीको साटो बालबालिका र युवा पिँढीहरु आधुनिक डिजेका बाजामा रमाएको देखिन्छ । आधुनिक बाजाले त हाम्रो संस्कृति हराउँदै गएको बूढापाकाहरुले बताए ।
विगतमा विवाह व्रतबन्ध हुँदा गाउँघरमा रतेडी र देउडा खेल्नकै लागि वल्लो गाउँ पल्लो गाउँबाट महिला, बूढापाकाहरु जम्मा भएर देउडा र रतेडीमा रमाएको देखिन्थ्यो भने आजभोलि यस्ता कार्यक्रममा बालबालिका र युवा पिँढीहरु बढी रमाउने गरेका स्थानीयवासी खिमादेवी विश्वकर्माले बताए । “गाउँघरमा कसैको विवाह भए रातभरि खेलिने देउडा र रतेडी आजभोलि खेलेको देखिँदैन”, उनले भने, “बूढापाकाहरु देउडा र रतेडी निकै मन पराउँछन् तर अचेलका युवाहरु खेल्न रुचाउँदैनन् ।”
खिमादेवीलाई विगतमा रातभरि देउडा खेलेको याद अझै छ । “एकपटक रातभरि रतेडी खेलेका थियौँ”, उनले भने, “हिजो आज देउडा १÷२ घन्टा पनि खेल्न पाइँदैन ।”
कैलालीको जानकी गाउँपालिकाका रतिराम सापकोटालाई आजभोलिका विवाह तथा उत्सवमा खासै रमाइलो लाग्दैन । देउडा खेल्न निकै मनपराउने उनि आधुनिक नृत्य हेर्न मन नलाग्ने बताए । “रतेडी र देउडा गीतभन्दा पनि आधुनिक बाजामा मानिसहरु (डिजे) बढी रमाएको देख्न सकिन्छ”, उनले भने, “हाम्रा पालामा लगातार दुई दिनसम्म देउडा खेलिन्थ्यो । देउडामा गरिने सवाल जवाफ सुन्न र हेर्न अझै पनि निकै आनन्द लाग्छ ।”
देउडामा गरिने सवाल जवाफले समाजको चित्रण गर्ने सापकोटाले बताउनुभयो । “गीतले समाजको परिवेश र अवस्था झल्काउँथ्यो”, उनले भने, “बाजागाजा बजाउँदा रमाइलो देखिए पनि मौलिकता छैन ।”
त्यस्तै जोशीपुर– ७ लोहागढकी बासुदेवी विकलाई पनि विवाहमा बजाइने आधुनिक बाजा पटक्कै मन पर्दैन । “पहाडमा रातभरि रतेडी र देउडा खेल्थ्यौँ”, उनले भने, “यो डिजे बाजा झगडा बनाउने साधन हो जस्तो लाग्छ । जुन घरमा उत्सव छ त्यहाँ युवाबीच झगडा हुने र कुटपिटसमेत हुने गर्छ । रमाइलो हेर्न जान पनि डर लाग्छ ।”
बासुदेवीले देउडा र रतेडी हेर्न नपाइने र आधुनिक बाजाको नाचगान हेर्न जाँदा पनि हल्लाखल्ला र झगडा बढी हुने भएकाले कार्यक्रममा जान छोडेको बताए । पछिल्ला समय रतेडी र देउडा पनि डिजे बजाएरै खेल्ने गरेको देखिन्छ । “मुखले गीत भन्ने र खेल्ने पराम्परा पनि हराउँदै गएको छ”, साहित्य तथा संस्कृतिविद् डा योगेन्द्र बजगाईंले जोड दिए, “ आधुनिक गीतले हाम्रो संस्कृतिमा नराम्रो असर गरेको छ । हाम्रा संस्कार र संस्कृतिसँग जोडिएका परम्परागतरूपमा गाइने देउडा संरक्षणका लागि जानकार सबै लाग्नुपर्छ ।” उहाँले रतेडी र देउडा सुदूरपश्चिमका संस्कृति भएकाले यसलाई अभियानकै रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिए । “हातमा हात, पैतलामा पैतला मिलाई रतेडी र देउडा खेल्नु हाम्रो संस्कृति हो”, संस्कृतिविद् डा बजगाईंले भने, “संरक्षणकर्मीले यसमा युवा पुस्तालाई सहभागी गराउन बढाउन योजना बनाउन जरुरी छ ।”
.gif)