मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

११ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भयो नेपाल-भारत काव्य गोष्ठी


पश्चिम प्रेस
बुधबार, जेठ १७ २०८०
  • 1.1K
    Shares

  • images
    images
    ११ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भयो नेपाल-भारत काव्य गोष्ठी

    बैतडी ।  बैतडीमा नेपाल–भारत काव्यगोष्ठी मङ्गलबार सम्पन्न भएको छ । स्थानीय लोक संस्कृतिको संरक्षण गर्ने उद्देश्यले डिलाशैनी गाउँपालिका–६ गोकुलेश्वरमा आयोजित चर्मण्यावती साहित्य सम्मेलत तथा नेपाल–भारत काव्यगोष्ठी ११ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । 

    डिलाशैनी गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशी र राष्ट्रियता संरक्षण अभियानका अभियन्ता हेमबाबु लेखकले उक्त घोषणापत्र जारी गरेका हुन् । कार्यक्रममा उपस्थित नेपाल र भारतका कवि तथा साहित्यकारले मानसखण्ड क्षेत्रको लोक संस्कृति जगेर्नाका लागि सबैले आ–आफ्नो क्षेत्रबाट भूमिका खेल्नुपर्ने धारणा राखेका थिए । घोषणापत्र जारी गर्दै डिलाशैनीका अध्यक्ष जोशीले चर्मण्यावती ९चमेलिया० सभ्यताको अध्ययन एवं प्रचार–प्रसारका लागि गाउँपालिकाले भूमिका खेल्ने बताए । 

    सम्मेलनले स्थानीय लोक संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने सहभागीले बताए । नेपाल र भारतको कला तथा संस्कृतिमा एकरुपता रहेको र यसको जगेर्नाका लागि सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने उपस्थित सहित्यकारको जोड थियो । सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री तथा साहित्यकार राजेन्द्रसिंह रावलले नेपाल र भारतबीच रोटीबेटीको सम्बन्धमात्रै नरहेको उल्लेख गर्दै दुवै देशको संस्कृतिको पनि सम्बन्ध रहेको बताए  । उनले दुवै देशको विभिन्न संस्कृति मिल्ने भएकाले त्यसको संरक्षणमा जोड दिए । उत्तराखण्ड र सुदूरपश्चिमको संस्कृति एकनासको रहेकाले यसको संरक्षणमा दुवै देशका नागरिक जुट्नुपर्ने उनको भनाइ थियो । 
      
    साहित्यकार पुरनसिंह दयालले दुई देशका नागरिकको सम्बन्ध सुमधुर बनाउन चर्मण्यावती साहित्य सम्मेलन फलदायी रहने बताए । समाजसेवी महेशदत्त भट्टले चौलानी नदी सङ्कटमा पर्दै गएकाले यसको संरक्षणमा जोड दिए । 

    भारतीय साहित्यकार तथा नयामुक्त अभियानका अभियन्ता डा पिताम्बर अवस्थीले गाउँपालिकाले पहिलोपटक आयोजना गरेको साहित्य सम्मेलनको प्रशंसा गर्दै नेपालको एउटा दुर्गम क्षेत्रमा लोक संस्कृति जगेर्नाका लागि गरिएको यो प्रयास नेपाल र भारतका अन्य क्षेत्रका लागि प्रेरणाको स्रोत भएको बताए । 

    आयोजक संस्था राष्ट्रियता संरक्षण अभियानका संयोजक हेमबाबु लेखकले राष्ट्रिय भावना जागृत गराउन तथा मानसखण्ड लोक संस्कृतिको जगेर्नाका लागि कार्यक्रमको आयोजना गरिएको बताए । सम्मेलनको उद्घाटन सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले गरेका थिए । 

     


  • सम्बन्धित विषय:

  • # नेपाल-भारत काव्य गोष्ठी
  • प्रतिक्रिया दिनुहोस