महेन्द्रनगर । २०५१ सालदेखी चर्चामा रहेको कञ्चनपुरको बेदकोट नगरपालिका–२ स्थित दैजीछेलामा औद्योगिक क्षेत्र स्थापनामा ढिलाई हुँदै आएको छ ।
तीन वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले औद्योगिक क्षेत्रको शिलान्यास गरेपनि खासै प्रगति हुन सकेको छैन । अहिले औद्योगिक क्षेत्रमा पर्ने रूखहरू गणनाको काम अन्तिम चरणमा भएपनि अन्य प्रगति हुन सकेको छैन । औद्योगिक क्षेत्र स्थापनाका लागि पाँच वर्षअघि गरिएको विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय प्रभाव मूल्यांकनमा २५ हजार ९ सय ६८ रूख काटनुपर्ने देखिएका थियो ।
तर अहिले रूखहरूको संख्या बढेकाले थप विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय प्रभाव मूल्यांकन गर्नुपर्ने भएकाले प्रक्रियागत कुराले लम्बिन सक्ने बेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले बताउए । “अहिले सो क्षेत्रमा रुखहरु छपानको काम अन्तिम चरणमा पुगेको छ ।” उनले भने–“छिट्टै सरकारले यसको काम अघि बढाउछ ।”
सरकारले औद्योगिक क्षेत्र घोषणा गरेपछि विभिन्न चरणमा अध्ययन गरिए पनि कामले गति लिन नसकेको हो । “शिलान्यास भए पनि अहिलेसम्म औद्योगिक क्षेत्रको कामले गति लिएको छैन ।” नगर प्रमुख बोहराले भने–“वन कार्यालयले कटान हुने रूखमा टाँचा लगाएर वन मन्त्रालयबाट कटान आदेश आएपछि मात्रै रूख काटिन्छन त्यसपछि भौतिक पूर्वाधार निर्माणको काम अगाडि बढ्छ ।”
डिभिजन वन कार्यालय कञ्चनपुरले दैजी छेला औद्योगिक क्षेत्रमा ४२ हजार रुखको लगत संकलन गरेको जनाएको छ । कार्यालयका सुचना अधिकारी शिवराज अवस्थीले औद्योगिक क्षेत्रका रुखको लगत संकलन गरेर कम्प्युटरमा राख्ने काम भइरहेको बताए । “हामीले लगत संकलन गरेर वन निर्देशनालयमा पठाउने हो त्यहाबाट विभागले मन्त्रालयमा पेश गर्दछ ।” उनले भने–“मन्त्रीपरिषदबाट रुख कटानको आदेश आएपछि मात्रै अन्य पक्रिया अघि बढ्छ ।” मन्त्रीपरिषदले निर्णय गरेपछि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड र वन निर्देशनालयबीच सम्झौता भएपछि मात्रै कटानको काम हुने उनले बताए ।
बेदकोट नगरपालिका—२ को जनचेतना सामुदायिक वन र वडा नं. ३ को बेदकोट सामुदायिक वनको साढे ४ सय विघा जमिनमा औद्योगिक क्षेत्र स्थापना हुनेछ । उक्त क्षेत्रमा साना, मझौला र ठूला गरी १ सय २४ उद्योग स्थापना गर्न सकिनेछ ।
औद्योगिक क्षेत्रमा एक सय वटा प्लट रहने गरि साना उद्योगका लागि २३, मझौला उद्योगका लागि ४४ र ठूला उद्योगका लागि ३३ प्लट छुट्ट्याइएको छ ।
.gif)