मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

शिक्षण पेशासँगै उद्घोषणमा जमेका कञ्चनपुरका ‘केपी’


पश्चिम प्रेस
सोमबार, साउन १५ २०८०
  • 3.5K
    Shares

  • images
    images
    शिक्षण पेशासँगै उद्घोषणमा जमेका कञ्चनपुरका ‘केपी’
    महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीका केपी कलौनीले शिक्षण पेशा अङ्गालेको साढे एघार वर्ष भयो । हाल कैलालीको तेघरीमा रहेको नेपाली सेनाको सैनिक आवाशीय विद्यालयमा कार्यरत कलौनीको परिचय शिक्षक मात्र नभई सुदूरपश्चिम प्रदेशमै एक कुशल उद्घोषणका रुपमा परिचित छ ।
     
    विसं २०६० देखि स्थानीयस्तरबाट उद्घोषण सुरु गरेका कलौनीको कला र प्रभावकारी उद्घोषणकै कारण उहाँको माग सुदूरपश्चिमसँगै भारतमा प्रवासीहरुले आयोजना गर्ने ‘स्टेज’ कार्यक्रममा धेरै छ । काठमाडौँदेखि भारतको राजधानी नयाँ दिल्लीमा विभिन्न नेपाली समाजले आयोजना गर्ने कार्यक्रममा पारिश्रमिक लिएर उद्घोषणका लागि जाने कलौनीसित कैलाली र कञ्चनपुरका स्थानीय रेडियो एफएममा काम गरेको अनुभव छ ।
     
    दुई दशकदेखि उद्घोषणमा सक्रिय कलौनीले हालसम्म मेला÷महोत्सवमा स्टेज कार्यक्रम मात्रै साढे तीन सयभन्दा बढी सञ्चालन गरिसकेको बताए। “मेला÷महोत्सवमा साङ्गितिक कार्यक्रम दर्शकलाई थप स्वादिलो बनाउन उद्घोषकको अहम भूमिका रहन्छ”, उनले भने, “विद्यालयमा अध्यापन र स्टेजमा कार्यक्रम सञ्चालन फरक भए पनि दुवैतिर सक्रियताका साथ अघि बढेकै छु ।”
     
    शनिबारलगायत बिदाका दिन स्टेज कार्यक्रममा उद्घोषकका रुपमा देखिने कलौनीले स्टेज कार्यक्रमबाट पारिश्रमिक स्वरुप राम्रै रकम पाउने गरेको बताए। “यहाँ हुने मेला/महोत्सवमा काठमाडौँलगायत अन्यत्रबाट उद्घोषक तथा कार्यक्रम सञ्चालक बोलाउने गरेको भए पनि सुदूरपश्चिममै प्रतिभावान उद्घोषक प्रर्याप्त उत्पादन भइसकेका छन्”, उनले भने, “स्थानीयस्तरमा हुने कार्यक्रममा यहाँका प्रतिभावान कार्यक्रम सञ्चालकलाई स्थान दिनुपर्छ ।”
     
    सुदूरपश्चिममा उद्घोषकका रुपमा परिचय बनाएका कलौनी कार्यक्रम सञ्चालनका लागि सुदूरपश्चिमका नौ वटै जिल्लाका साथै भारतको राजधानी नयाँ दिल्ली, देहरादुन, पिथौरागढ लगायतका सहरमा पुगिसकेका छन् । ‘रङमञ्च’ कार्यक्रमबाट स्थानीयस्तरबाट उद्घोषण सुरु गरेका कलौनीलाई सुदूरपश्चिममा हुने हरेक मेला, महोत्सव र विभिन्न कार्यक्रममा बोलावट हुने क्रम बढ्दो अवस्थामा रहेको उनले बताए ।
     
    “उद्घोषण कलाको आफैँमा चुनौती र अवसर पनि हो”, कलौनीले भने, “कार्यक्रमलाई रोचक ढङ्गबाट प्रभावकारी रुपमा सञ्चालन गरिरहेकै कारण यहाँ कार्यक्रममा बोलाउने क्रम बढ्दै गएको छ ।” स्नाकोत्तर तह अध्ययन पूरा गरेका कलौनी सैनिक आवाशीय विद्यालयमा स्वास्थ्य शिक्षा विषयका शिक्षक छन्। “सकभर बिदाको दिन पारेर कार्यक्रम मिलाइरहेको हुन्छु”, एघार वर्षदेखि शिक्षण पेशामा रहका कलौनीले भने, “अति महत्वपूर्ण कार्यक्रम भए स्कूलबाट बिदा लिएर पनि गएको अवस्था छ ।”
     
    लोक दोहोरी प्रतिष्ठानमा आबद्ध रहेका कलौनीले स्टेज कार्यक्रमले दामसँगै परिचय पनि बनाएको बताए। त्यसैगरी राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान कञ्चनपुरका अध्यक्ष एवं देउडा गायक लालबहादुर धामी मेला/महोत्सव सञ्चालन र थप मनोरञ्जनात्मक बनाउन उद्घोषकको ठूलो भूमिका रहने गरेको बताउछन्।
     
    “केपी कलौनी सुदूरपश्चिममा उद्घोषणका साथै कलाकारिता क्षेत्रको प्रतिभावान नाउँ हो”, अध्यक्ष धामीले भने, “यहाँका हरेक कलाकारसित स्टेज कार्यक्रममा उहाँको सहकार्य बेजोड रुपमा हुँदै आएको छ ।” उनले उद्घोषण पनि कलाकारिताभित्रको एउटा महत्वपूर्ण पक्ष भएको जनाउँदै कलाकारको प्रस्तुत र दर्शकबिचको पुलका रुपमा अहम भूमिका रहने बताए।


  • सम्बन्धित विषय:

  • # शिक्षण पेशा
  • प्रतिक्रिया दिनुहोस