शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा १७ दिनदेखि तालाबन्दी


पश्चिम प्रेस
बुधबार, साउन १७ २०८०
  • 914
    Shares

  • images
    images
    सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा १७ दिनदेखि तालाबन्दी

    महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालयको महेन्द्रनगरस्थित केन्द्रीय कार्यालयमा  १७ दिनदेखि तालाबन्दी गरिएको छ । विश्वविद्यालयले हालै गरेको विभागीय प्रमुख र क्याम्पस प्रमुखलगायतको नियुक्तिमा असन्तुष्टि जनाउदै राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले तालाबन्दी गरेको हो । 

    विश्वविद्यालयले असार अन्तिम साता ७ वटा विभाग र १५ क्याम्पसमा नयाँ प्रमुख नियुक्त गरेको थियो । राजनीतिक भागबण्डाका आधारमा गरेको नियुक्तिको विरोधमा सुरुमा एमाले निकट अनेरास्ववियू र राप्रपा निकट राप्रविसले तालाबन्दी गरेका थिए । तालाबन्दीका कारण केन्द्रीय कार्यालयका सबै कामकाज प्रभावित भएका छन् । अनेरास्ववियूसँग सहमति भएर ताला खुले पनि राप्रविससँग भने हालसम्म छलफलसमेत भएको छैन ।

    विश्वविद्यालयले विभागीय प्रमुखमा इन्जिनियरिङतर्फ हरेन्द्रराज कलौनी, व्यवस्थापनमा पदमराज भट्ट, मानविकिमा पुष्पराज जोशी, शिक्षामा अर्जुन नेगी, सिएसआईटीमा कर्णदेव भट्ट, विज्ञानमा शैलेन्द्र चन्द र कृषिमा सुशील न्यौपानेलाई नियुक्त गरेको थियो । जसमा कांग्रेस, एमाले, माओवादी केन्द्र निकट प्राध्यापक संगठनबाट २/२ र एकीकृत समाजवादी निकट संगठनबाट एक जना परेका छन् । विश्वविद्यालयले हालै नियुक्त गरेका १५ जना क्याम्पस प्रमुखमा पनि कांग्रेस र एमाले निकटबाट ६/६ जना र माओवादी निकटका ३ जना परेका छन् ।

    राजनीतिक भागबण्डाका आधारमा नभई सेवा आयोगबाट नियुक्त गरिनुपर्ने माग गर्दै ताला लगाएको अनेरास्ववियू कञ्चनपुरका अध्यक्ष अमर धानुकले बताए । २०७७ मा पनि विश्वविद्यालयले कुनै पनि पदमा राजनीतिक भागबण्डाका आधारमा नियुक्ति नगर्ने सहमति गरेको तर कार्यान्वयन नगरेको उनको आरोप छ । अनेरास्ववियूले केन्द्रबाटै शैक्षिक संस्थामा ताला नलगाउने नीति अन्तरगत ताला खोलिएको र विश्वविद्यालयसँग पनि राजनीतिक भागबण्डाका आधारमा नियुक्ति नगर्ने सहमति भएको अध्यक्ष धानुकले बताएका छन् ।

    विश्वविद्यालयका रजिष्ट्रार यज्ञराज पाठकले विद्यार्थी संगठनहरुले विभिन्न माग राखेर गरिएको तालाबन्दीका विषयमा छलफल भइरहेको बताए । अनेरास्ववियूसँग छलफल गरेरै ताला खोलिएको र राप्रविससँग पनि छलफल गरेर ताला खोलिने उनले बताए ।

     

     


  • सम्बन्धित विषय:

  • # सुदूरपश्चिम विश्वविद्यालय
  • प्रतिक्रिया दिनुहोस