बुधबार, भदौ ३ गते २०८३ || Aug 19, 2026
  • यो साता चर्चामा :

दड़ खाने परम्परा र हरितालिका व्रत


आइतबार, भदौ ३१ २०८०
  • 1.6K
    Shares

  • images
    images
    दड़ खाने परम्परा र हरितालिका व्रत

    दड़/दड़ = दड़ो, दड़दड़ानु यी डोट्याली लोक भाषामा प्रयुक्त हुँदै आएका शब्द हुन। दड़ /दड् शब्दले बलियो, बाक्लो, ढिलो पाचन हुने,नफाट्ने भन्ने अर्थ बुझाउँछ भने, यसले हरितालिका पर्वको पूर्व सन्ध्यामा खाइने खाना लाई पनि बुझाउँछ।

    दड़ो घाँस =छिप्पिएको घाँस,
    दड़ा गोड़ा =बलिया नडग्ने भार थाम्ने खुट्टा,
    दड् रैग्यो =पेटमा पाचन हुन नसकेको खाना रहनु,
    दड्दड़ानु कपडा/भाडो =मोटो, बाक्लो, सित्तै नफाटने बलियो कपडा या भाडो,आदि


    संस्कृत भाषामा दृढ: शब्दको नजिक यो शब्द रहेको छ, जसले उपरोक्त अर्थ सित नै सामीप्य राख्दछ। नेपाली भाषामा यसको समानार्थी शब्दका रूपमा दर/दरो शब्द प्रयोग हुन्छ। दर अनेकार्थी शब्द हो ।दरो शब्दले बलियो भन्ने अर्थ नै दिन्छ।

    चान्द्र मास अनुसार हरितालिका भाद्र शुक्ल पक्षको तृतीया तिथिमा पर्ने पर्व हो। पौराणिक आख्यानमा उल्लेखित यस शब्दको अर्थ "आलिभिर्हरिता "अर्थात् सखीहरूबाट हरण गरिएकी भन्ने बुझाउँछ। भविष्योत्तर पुराणमा वर्णित शिव पार्वतीको कथासँग यस पर्वको सम्बन्ध छ। यसै पर्वलाई तीज नामकरण गरिएको पनि छ।

    तृतीया तिथिलाई नै अवधि,भोजपुरी हिन्दी खडिबोलीमा तीज भनिन्छ। त्यहाँ द्वितीयालाई दुज र चतुर्थीलाई चौथ भनिन्छ। त्यहीँ भारतीय भाषाको अनुप्रयोग नेपालीमा गरिँदै छ।महिलाहरूले यस तृतीया पछि क्रमशः गणेश चतुर्थी तथा ऋषि पञ्चमीको समेत व्रत बस्ने भएकाले लगातारको उपबासबाट शरीरमा शक्ति क्षय नहोस्, भोकको कारण व्रतमा अवरोध नहोस् भन्ने उद्देश्यले तृतीयाको अघिल्लो दिन दड् खाना खाने प्रचलन चलेको हो। तृतीयाका दिन पानी समेत नपिई कठोर व्रत हुने भएकाले पनि अघिल्लो दिन ढिलो पाचन हुने र तागतिलो खानेकुरा खाइन्छन् त्यो नै दड़ वा दर हो। सुदूरपश्चिममा आफ्नो प्रचलन र गच्छे अनुसार माणा,लौन, सेल पुरी, बटुक, दही, काँक्रा, केरा, आदि खाने प्रचलन हो। दड़ खाने समय सीमा मध्य राति सम्म मात्रै हो। यसमा परिवारका सबै सदस्यका साथै माइत आएका चेली बैनी र इष्टमित्र समेत खास गरी व्रत बस्ने महिलाले दड् खान्छन्।

    बढी क्यालोरी युक्त खाना अघिल्लो दिन खानाले त्यस पछिका लगातार ३ दिन अनि लगतै पर्ने बिरूडा पञ्चमी, अमुक्ताभरण सप्तमी र दुर्बाष्टमी समेतका महिला प्रधान पर्वमा शारीरिक क्षमता बनाइ राख्न दड् को महत्त्व छ।

    दहीमा काँक्रोको टुक्रा मिसाएपछि जुन खानेकुरा बन्छ, त्यो दर हो। दरको खास अर्थ यही हो। दर तीजको अघिल्लो रात खाने गरिन्छ र दर खाए सँगै तीज सुरु हुन्छ । तीजको दिनभर व्रत बस्नु पर्ने र पानी सम्म नपिउने जस कारण तीजको दिन भोक नलागोस् भनेर अघिल्लो रात १२:०० बजे पूर्व खानेकुरा खाने चलन परापूर्व देखि चली आएको हो ।

    सुदूरपश्चिम बाहेक अन्य क्षेत्रमा दर शुद्ध दहीमा काँक्रोको टुक्रा मिसाएपछि जुन खानेकुरा बन्छ, त्यो दर हो। दरको खास अर्थ यही हो। दर तीजको अघिल्लो रात खाने गरिन्छ र दर खाए सँगै तीज सुरु हुन्छ । तीजको दिनभर व्रत बस्नु पर्ने र पानी सम्म नपिउने जस कारण तीजको दिन भोक नलागोस् भनेर अघिल्लो मध्यरात पूर्व खानेकुरा खाने चलन परापूर्व देखि चली आएको छ। शुद्ध शाकाहारी खाद्यान्न खाएर मनाउने चलन छ । दरमा दही, घिउ, खिर, काँक्रो, स्याउ, केरा, दूध, आलुको तरकारी, विरौला (सिमीको तरकारी) जस्ता परिकार खाएर मनाउने मान्यता रही आएको छ। हाल आएर यो परम्परा विकृत बन्दै आएको छ।

    हरितालिका व्रत कथाको अनुसरण गर्दै महिलाहरूले व्रत बस्ने भएकाले यसमा पार्थिव शिव पार्वतीको पूजा हुने भएकाले पुरुषले समेत सहभागी भई गर्दा अझै उत्तम हुन्छ भन्ने शास्त्रीय मान्यता रहेका छन्।

    व्रत /उपबास बस्ने विविध विकल्पहरू छन् ।कथा अनुसार पार्वतीले गरे जस्तै पानी पनि नखाई व्रत बस्ने कठोरता मात्रै अवलम्बन गर्ने रूढ मानसिकता पाल्नु भन्दा पनि उपयुक्त विकल्प शारीरिक क्षमता अनुसार छनौट गर्नु पर्दछ। कुनै दिन उपवास राख्नु पाचन प्रणाली सन्तुलित राख्न उपयुक्त नै हुने भये पनि निरन्तर व्रत त्यसमा पनि पानी समेत नपिएर कट्टरता देखाउनु त्यति सान्दर्भिक नहुन सक्दछ किन भने परम्परा थालनी हुँदाका बखतको इम्युनिटी अहिलेकामा नहुन सक्दछ।

    अर्को कुरा कथा अनुसार शिव पार्वती प्रेम कथाका रूपमा मानिएको र सौभाग्य प्रवर्द्धक पर्वका रूपमा श्रीमान् श्रीमतीको सुमधुर सम्बन्धको पर्वका रूपमा यसले मान्यता पाए पनि त्यो नभएर व्रत राख्नको औचित्य रहँदैन। बरु एक आपसी " प्रणय दिवस " का रूपमा मान्नुको सट्टा कुनै सरोकार नभएको भ्यालेन्टाइन पछि दगुर्नेहरूले पनि यस व्रतलाई विकृत बनाउने चक्कर चलिरहेको विडम्बना छ।

    सात्त्विक भाव पुर्वक मनाइने यो पर्व तीज सुरु नहुँदै दर खाने र दरका रूपमा मासु रक्सी समेत खाइन्छ भने देवीदेवताका फाग माङल गाउने , खुलस्त भएर महिलाहरूले सुख दुःखका कुरा गीतमार्फत अभिव्यक्त गर्नुको साँटो उत्ताउला,उच्छृङ्खल, छाडा प्रवृत्तिका गीत एवम् नृत्यको प्रचलन बढ्दै गएको छ। यसले एकातिर सात्त्विक व्रत परम्परा भङ्ग हुदैछ भने अर्का तिर तीजका नाउँमा छाडापन, प्रदर्शन र फजुल खर्च बढी रहेका छन्। आत्मीयता र सद्भाव बाँड्ने ठाउँमा घटिरहेको छ।


  • सम्बन्धित विषय:

  • # हरितालिका व्रत


  • प्रतिक्रिया दिनुहोस