मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

प्रेम महिमा


सोमबार, फागुन २ २०७८
  • 994
    Shares

  • images
    images
    प्रेम महिमा

    प्रेमले  जुट्छ हो पूर्व या पश्चिम
       प्रेम बिग्रेर  पो  रुष्ट भो  दक्षिण ।
          प्रेम लुक्दा सबै नष्ट भो जीवनी
             निर्धनी  प्रेमले  बन्छ  धेरै  धनी ।।१

    गोप्यको भावना प्रेमले खुल्दछ
       वेदना  जोसुकै   प्रेमले  भुल्दछ ।
          प्रेमले  माहुरी   पुष्पमा   बस्दछ
             प्रेम  भन्ने  कुरा क्रोध नै नास्दछ  ।।२

    प्रेमको प्रेममा प्रेमकै छाप छ
       प्रेमको रापमा स्वादिलो धाप छ ।
          प्रेमको दौडमा प्रीतको गीत छ
             प्रेमको खेलमा प्रेमकै जीत छ ।।३

    प्रेमले   जानकी,  रामका  साथमा
       पार्वती   प्रेमले  शम्भुका  काखमा ।
          प्रेम यो प्रेमिकाको विना साँच्नको
             अर्थ होला र के  जिन्दगी बाँच्नको ।।४

    प्रेम लक्ष्मी सधैं  गर्दथिन् विष्णुमा
       प्रेम गर्थिन् सदा राधिका कृष्णमा ।
          प्रेमिका प्रेमकी जीवनी शक्ति हून्
             प्रेम नै प्रेमिका साधना भक्ति हून् ।।५

    मख्खपर्छन् सबै प्रेम पाएपछि
       प्रेम सङ्गीतमा काव्य गाएपछि ।
          प्रेम जानिन्छ यो प्रीत लाएपछि
             प्रेमको ताल आनन्द आएपछि ।।६

    प्रेमको खेलमा प्रेमकै राप छ
       भित्र आगो बलेको जसो ताप छ ।
          प्रेम भन्दा कुनै छैन ठूलो अरू
             भन्दछन्  यो कुरा  प्रेम  गर्नेहरू ।।७

    चल्छ संसार यो प्रेमकै कारण
       प्रेमले  विश्वमा गर्छ  है  धारण ।
          प्रेमले जन्मिए सृष्टिका जीव यी
             क्रोध बेकार हो, प्रेम हो जिन्दगी ।।८




    प्रतिक्रिया दिनुहोस