सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

बडादसैंको अन्तिम दिन कोजाग्रत पूर्णिमा


शनिबार, कात्तिक ११ २०८०
  • 837
    Shares

  • images
    images
    बडादसैंको अन्तिम दिन कोजाग्रत पूर्णिमा

    नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ । माता दुर्गाका तीन वटा रूपमध्येका एक रूप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ । लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्त्व छ । यो पूर्णिमालाई कौमुदी पनि भनिन्छ ।

    धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाराधनासहित रात्रिमा जाग्राम बसेपछि कोजाग्रत पूर्णिमादेखि बडादसैँ समापन हुन्छ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै दुर्गा पक्ष सकिन्छ ।

    शास्त्र अनुसार गर्नु पर्ने सबै बलि पूर्ति अर्थात् अखिल बलि पूर्तिको काम पनि आजै हुनेछ । अखिल बलि पूर्ति भएसँगै विजया दशमीदेखि सुरु भएको नवदुर्गाको प्रसाद स्वरूप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि आजैदेखि समाप्त हुन्छ । आजै जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि स्थानमा लगी सेलाइन्छ ।

    आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दसैँ पर्व नेपालीले आआफ्नो गच्छे अनुसार मनाउँछन् । आजको दिन सायङ्कालमा महालक्ष्मीको पूजाराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास रहेको छ । 

    आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म कात्तिक स्नान गरी घरघरमा विशेष रुपमा गरिने तुलसी पूजा पनि आजदेखि नै सुरु हुन्छ । आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक स्नान गरेर महापातकबाट पनि मुक्त भइने विश्वास छ । यसैगरी सौभाग्य, सम्पत्ति, श्रेय प्राप्तिका लागि आजैदेखि आकाश दीप दान पनि सुरु हुन्छ । आकाश दीप दान पाएसम्म बाँस, नपाएमा पलाँस, खएर, पीपल आदिको लिङ्गो ठड्याइ गरिन्छ । आकाश दीप दान भगवान् विष्णुलाई समर्पण गरी बाल्ने गरिन्छ । कात्तिक स्नान गर्नेले आजदेखि कात्तिक शुक्ल पूर्णिमासम्म दुई दल भएका मास, मुगी, मुसुरो, चना, भटमास आदि अन्न खान नहुने शास्त्रीय मान्यता छ ।


  • सम्बन्धित विषय:

  • # कोजाग्रत पूर्णिमा


  • प्रतिक्रिया दिनुहोस