सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

ठेलमठेल यात्रु बोकेर जब गोदावरीबाट बस हिड्यो...


बिहीबार , कात्तिक १६ २०८०
  • 997
    Shares

  • images
    images
    ठेलमठेल यात्रु बोकेर जब गोदावरीबाट बस हिड्यो...
     
    सात/आठ वर्षपछि यस पटकको दशैँ जन्मथलो दार्चुलामा मनाउने योजना बन्यो ।
     
    सोही योजना अनुसार सार्वजनिक बसमा दार्चुला जान आमा र म तयार भयौ । घटस्थापनाको भोलीपल्ट टिकट लिन महेन्द्रनगर स्थित बसपार्क पुग्दा थाहा भयो कार्त्तिक ४ गतेसम्मको टिकट बुक भइसकेको रहेछ  । जन्मथलोमा पुजाँपाठका लागि कार्त्तिक २ गते पुग्नै पर्ने थियो । टिकट नपाएपछि भारतको बाटो भएर दार्चुला जाने तयारी गरे । मेरो जन्मस्थान मालिकार्जुन –५ डाडाकोट पुग्न भारतीय बाटो भएर पनि जान सकिन्छ । नेपालको बाटो नहुँदा पूर्वजहरूले महेन्द्रनगर आउन भारतीय बाटो नै प्रयोग गर्थे । भारतीय बाटो भएर जाने तयारी हुँदै थियो । त्यही बिचमा काका महेश अवस्थी महेन्द्रनगरमा भेटिए । काकाले नेपालकै बाटो जाने इच्छा देखाए । उनले बसपार्कमा टिकटका लागि सोधपुछ गरेछन् । कार्त्तिक १ गते बिहान ५ बजेको बसमा बी साइडको क,ख र एउटा क्वाविनको सिट मिल्यो । हामी पनि नेपालबाटै जान तयार भयौ । 
     
    तर मैले बसपार्क टिकट काउन्टरमा टिकट काट्न जाँदा ४ गतेसम्मका लागि टिकट बुकिङ भैसकेको भने । काउन्टरमा टिकट कसरी पाउँदै छ थाहा थियो । तर टिकटकै लागि भनसुन गर्न मन नलागेर भारतको बाटो जाने तयारी गरे ।
     
    हिन्दुहरूको महान् पर्व दशैँ धूमधामसँग मनाउने चलन छ । यो बेला सबैको बिदा हुन्छ । दशैँमा कर्मचारीहरूले अन्य चाडको तुलनामा धेरै दिन बिदा पाउँछन् । महेन्द्रनगर धनगढीमा त पहाडी जिल्लाबाट बसाइसरी आएकाहरू धेरै छन् । सुदूरपश्चिम मा दशैँमा मठमन्दिरमा पुजाँपाठ गर्न पनि पहाड जन्मथलो जानेको सङ्ख्या उलेख्य हुन्छ । विभिन्न स्थान र ठाउँहरूमा काम गर्न जाने व्यक्तिहरू समेत यसै अवसरमा घर फर्कन्छन् । त्यसैले दशैँ र तिहारको बेला यात्रुहरूको घुइँचो लाग्नु स्वाभाविकै हो ।
     
    कार्त्तिक १ गते महेन्द्रनगरबाट बिहान ५ बजेको बसमा दार्चुलाको यात्रा तय भयो । बसपार्कबाट बस हिँड्ने समय बिहान ५ बजे भए पनि बस ढिलो गरी आयो । मेरो घर महेन्द्रनगरबाट ३ किलोमिटर टाढा पर्छ । बेदकोट नगरपालिका ७ सुडा । म र आमा बिहानैदेखि सुडा स्थित राजमार्गमा बसको प्रतीक्षामा थियौ । बिहान ५ः४५ मा बस चढ्यौ । 
     
    म बस भित्र छिरेँ तर खुट्टा टेक्ने ठाउँ छैन थिएन । म र आमा त सिटमा बस्यौ तर टिकट काट्ने काका महेशले सिट पाएनन् । एक सिट क्याबिनको थियो । क्याबिनमा मान्छे अट्ने ठाउँ थिएन । काका उभिएरै अत्तरिया बसपार्क सम्म पुगे । अत्तरियाबाट सिट पाउने आशा थियो तर पाइएन । चाडपर्वको बेला भएकाले ट्राफिक प्रहरीले पनि कडाइ गरेको सुने । अत्तरिया बसपार्कमा बसका सहचालकले सिट बाहेकका मान्छे बाहिर उतारे र अटो रिक्सामा गोदावरी पुल पठाए । त्यहाँ ट्राफिक प्रहरी छल्न उनले यस्तो गरेका रहेछन् । 
     
    ठिक ८ बजे गोदावरी पुलमा बस रोकियो बसका सहचालकले रिक्सामा पठाएका यात्रु त्यहाँ जम्मा भए । त्यहाँ बसको ग्यालरीमा करिब ४० जना यात्रु चढाए । बसमा यात्रुको माल सामान टन्नै थियो बसको ग्यालरीमा यात्रुका सामानले भरिभराउ त्यसैमा ठेलमठेल मान्छे । सिट नपाएर ग्यालरीमा बसेकी एउटा दिदी भन्दै थिइन सास फेर्न गाहा्रे भयो झ्यालको सिसा खोलिदेऊ । ओभर लोड सामान र क्षमता भन्दा बढी यात्रु बोकेर जब बस गोदावरीबाट हिँड्यो अनि लाग्यो गन्तव्यमा कति बेला पुगिएला । सिटमा बसे पनि सिट माथि दुई जना अडेस लागेर उभिएका थिए । यात्रीहरुलाई गाडीवालाले भेडा बाख्रा झैँ खाँदेका थिए । यात्रीहरू पनि तँछाडमछाड गर्दै बस भित्र कोचिएरहेका थिए । आखिर सबैलाई चाँडो गन्तव्यमा पुग्नु नै थियो ।
     
    यसरी गोदावरीबाट ठेलमठेल गरी करिब १३० जना सम्मको यात्रीहरू बोकेर भीर पहराका सडकमा गाडी गुड्छ । त्यसलाई व्यवस्थित गर्ने कुनै ट्राफिक, पुलिस, प्रशासन, ऐन कानुन, नागरिक समाज छैन । यात्रुहरूको सुख सुविधाको कुरा त आकाशको फल हो । गाडीवालाहरूसित यसबारे अलिकति गुनासा गरे सुविधा चाहनेले त आफ्नै प्राइभेट गाडीमा हिँड्नु पर्छ, नजाने भए उत्रनू भन्ने तीतो जवाफ दिन्छन् । 
     
    सार्वजनिक ऐन कानुन पढेको त के सुनेकै भए पो उहाँहरूको जवाफ अलि राम्रो हुन्थ्यो । त्यो बेथिति हेर्दा जो कोहीलाई पनि यस्तो लाग्छ हाम्रो मुलुक सरकारविहीन, कानुनविहीन राज्य हो । बिचरा हामी यात्रीहरू झुण्डेरै पनि, जस्तै पीडा खपेरै पनि गन्तव्यमा त पुग्नु नै छ । यो पीडा र आक्रोश एक अर्कामा बाँडेर मन बुझाउनु बाहेक अरू विकल्प छैन । 
     
    गोदावरीको उकालोमा गाडीका साहुले आफ्नै दुःख सुनाउँदै थिए । दार्चुलाबाट गाडी रित्तो आउँछ यसरी मान्छे नहाले तेल हाल्न पुग्दैन । गोदावरीपछि बाटोमा थुप्रै टा«फिक चेक पोस्ट आए । गाडीका सहचालकले ईन्ट्रि पोस्टमा ईन्ट्री सँगै एक सय देखी दुई सयसम्म रुपया छोड्थे । रु दुई सयमा गाडी चेक पोस्ट पास । बाटोभरि चेक पोस्टमा पैसा बाढ्दै गरेका सहचालकले बेला बेला गुनासो गर्दै थिए । यत्ति नगरे र हाम्रो चल्दैन । महेन्द्रनगरबाट दार्चुला पुग्दा सम्म करिब १० हजार जति चेक पोस्टमा सकिन्छ । 
    यसरी करिब ६÷७ घण्टाको कष्टदायी यात्रा गर्दै डडेल्धुरा पुग्नु अगाडी नै बस ठुलो दुर्घटनाबाट जोगियो । ट्याक्टरलाई साइड दिन खोज्दा बसको अगाडीको एउटा टायर पुरै सडक बाहिर गइसकेको थियो । धन्न चालकले ब्रेक लगाउँदा जोगियो । बसमा भएका सबै आत्तिए । कसैले झ्यालबाट हाम फाले बसको ढोकाबाट आउन मुस्किल थियो । ग्यालरीमा मान्छे ठेलमठेल थिए । आत्तिँदै सबै मान्छे बसबाट ओर्लिए । केही बेरमै चालकले बस सडकमा निकाले बसको अगाडीको एउटा टायर सडक बाहिर थियो । 
     
    त्यसपछि बसमा त बसियो तर भगवान् भरोसा । ओभर लोड छ भीरको बाटो कतिखेर के हुन्छ मनमा चिसो पस्यो । त्यसपछि यात्रुले चालकलाई बिस्तारै जान आग्रह गरे । हामी पाटन पुग्नै लाग्दा बसको टायर पड्कियो ।  बस जेनतेन पाटन बजारमा पुग्यो । सबैलाई गन्तव्यमा पुग्न हतार छ । त्यहाँ बसका स्टाफले टायर फेरे । पुनः हाम्रो यात्रा सुरु भयो । बसको समय अनुसार हामीले ढिलोमा ७ बजे गन्तव्यमा पुग्नु थियो । तर हामी ढिलो गरी साढे नौ बजे बसबाट ओर्लिरह्यौ । त्यहाँबाट जन्मथलो पुग्न दुई घण्टाको बाटो हिँड्नुपर्छ । राती भैसकेको थियो । अचेल एैरीछानाबाट मेरो गाउँ पुग्ने कच्ची सडक सञ्चालनमा रहेछ । त्यहाँबाट हामी जिपमा जाने भयौ । कच्ची सडकको एक घण्टा जोखिमपूर्ण आज्ञा गरेपछि हामी बल्ल गन्तव्यमा पुग्यौ त्यतीबेला राती साढे एघार भैसकेको थियो । 
     
    यसरी सार्वजनिक सवारीमा यात्रा गर्दा सर्वसाधारणले वर्षौँदेखि विशेष चाडपर्वहरूमा भोग्न परेको यो पीडा हाम्रा देशको बेसरम सरकार र नेताहरूलाई त पक्कै थाहा छैन । उनीहरू त त्यही निरीह जनताले कर तिरेर किनेका करोडौँ पर्ने चिल्ला पजेरो र हेलिकप्टरमा आफ्नो गन्तव्यमा पुगिहाल्छन् ।
     
    कमसेकम जिल्लाका प्रशासकहरूलाई त जनताको यो पीडा र समस्या थाहा हुनै पर्ने हो । तर त्यस्तो देखिँदैन। नत्र किन जनताको जीवनसँग यत्रो खेलवाड ? किन यत्रो बेथिति ? जनतालाई किन यत्रो सास्ती? यस यात्रामा एउटै बस मात्र पनि तलमाथि भए सयौँ यात्रुहरूले ज्यान गुमाउने पक्का छ ।   
     


  • सम्बन्धित विषय:

  • # गोदावरी
  • # बस


  • प्रतिक्रिया दिनुहोस