प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह र विशेष पूजा गरी
मनाइने हरि बोधिनी एकादशी पर्व आज मनाइँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिनमा
क्षीरसागरमा सुत्नुभएका विष्णु आजै ब्युँझनुहुने भएकाले कार्तिक शुक्ल एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी
एकादशी पनि भनिन्छ । हरि शयनीदेखि हरि बोधिनी एकादशीका दिनसम्म चार महीना विष्णुका भक्तले तुलसीको
व्रत गरी विशेष पूजा गर्दछन् ।
विष्णु क्षीरसागरमा सुत्नुभएकाले यी चार महीनामा विवाह ब्रतवन्ध जस्ता माङ्गलिक कार्य नगरिने परम्परा छ ।
यस समयमा खोला, नदी नालामा बाढीपहिरो आउने र सर्प जस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ ।
। हरिशयनी एकादशीका दिन सुतेका भगवान् विष्णु (श्रीहरि) हरिबोधिनी एकादशीकै दिन उठ्ने विश्वास गरिन्छ ।
यससँगै अन्य देवताहरु समेत उठ्ने विश्वास गरिन्छ । यही दिन विष्णुप्रिया तुलसीको विवाह भगवान् विष्णुकै प्रतीक
मानिने शालिग्राम शिला (ढुंगा) अर्थात् दामोदरसँग गरिन्छ । हरिशयनी एकादशीका दिन घर घरमा रोपेर विशेष पूजा
गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर विवाह गरिन्छ । तुलसी
विष्णुप्रिया भएकाले यस दिन तुलसीको विवाह गर्ने परम्परा समेत रहेको मानिन्छ ।
परम्परागत मान्यता अनुसार, करिब ४ महिना लामो योग निद्राबाट ब्यूँझिएपछि भगवान् विष्णु (श्री हरि)ले माता
तुलसीको पुकार सबैभन्दा पहिले सुन्छन् । उक्त एकादशीमा भगवान् विष्णुसँगै सबै देवताहरुले पनि योग निद्रा
त्यागेर ब्युँझन्छन् । उक्त दिन भगवान् विष्णुको पूजा गरिन्छ अनि त्यसपछि विष्णुरुप शालिग्रामसँग तुलसीको
विवाह गरिन्छ । त्यही दिनदेखि नै हिन्दू संस्कारभित्र विवाह, मुण्डन, व्रतबन्धजस्ता मांगलिक कार्यहरु समेत गर्नु
शुभ मानिन्छ । त्यसअगाडि र हरिशयनी एकादशीपछिका करिब ४ महिना विष्णु र देवताहरु सुत्ने भएकाले विवाह,
व्रतबन्धजस्ता मांगलिक कार्य गरिँदैन ।
तुलसी विवाह गर्ने दिन श्रीहरिलाई जगाउनको लागि यो मन्त्रको जप गर्नुपर्ने शास्त्रमा बताइएको छ–
"उत्तिष्ठोतिष्ठ गोविन्द त्याज निद्रम् जगत्पत्ते।
त्वयि सुप्ते जगन्नाथ जगत् सुप्तम भवेदिदम्।
उथिते चेष्टते सर्वमुत्तिष्ठोतिष्ठ माधव ।
गता मेघ व्याच्छैव निर्मलं निर्मलादिश॥
शारदानी च पुष्पाणी गृह मम केशव ।"
तुलसी विवाहको पौराणिक कथा:-
कार्तिक शुक्ल एकाशदीका दिन तुलसीको विवाह गर्ने प्रचलनका सन्दर्भमा एक पौराणिक कथा छ । किंवदन्ती
अनुसार वृन्दा नाम गरेकी एक सद्गुणी स्त्री थिइन् । उनका पति जालन्धर क्रूर र भगवान विरोधी भएर
त्रिलोकाधिपति बनेर बसेका थिए । वृन्दाको पतिव्रता धर्मका कारण नै उनी अजय र शक्तिशाली रहेको मानिन्थ्यो ।
उनलाई महादेवले पनि हराउन सकेनन् । त्यसपछि सबै देवताहरूको आदेशमा श्रीहरि (विष्णु)ले जालन्धरको रूप
धारण गरी वृन्दाको पतिव्रताधर्म (सतीत्व) भंग गरिदिए ।
विष्णुले छल गरेर आफ्नो पवित्रता भंग गरेको थाहा पाएपछि वृन्दाले आत्मदाह गरिन् । त्यसपछि उनको खरानीको
राशमाथि एक वनस्पती बोट उम्रियो । तब भगवान् विष्णुले भन्नुभयो– आजदेखि उसको नाम तुलसी हो र मेरो
एउटा रूप यही ढुङ्गाको रूपमा रहनेछ, जसलाई शालिग्रामको नामले जानिनेछ । र मेरो (शालिग्राम ढुंगा) को
तुलसीजीसँगै पूजा गरिने छ, तुलसीबिनाको प्रसाद म ग्रहण गर्दिनँ । त्यसैबेलादेखि सबैले तुलसीको पूजा गर्न थालेको
भनाइ छ र कात्तिक शुक्ल एकादशीका दिन तुलसीको विवाह शालिग्रामसँग गरिदिने परम्परा बस्यो ।
असाढ शुक्ल एकादशीदेखि पूजाआजा सुरु गरिएको तुलसीको मठमा विधिपूर्वक पूजासहित हवन गरेर चतुर्मास व्रत
समाप्त गरिने शास्त्रीय मान्यता रहेको पाइन्छ । आजको दिन अन्न तथा चामलबाट बनेका परिकार नखाई फलाहार
मात्र गर्ने भएकाले सखरखन्ड, पिँडालु र वनतरुल उसिनेर खाने गरिन्छ।
.gif)