डडेल्धुरा । सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा मेला ‘देहीजाँत’ सुरु भएको छ । कात्तिक शुक्ल पूर्णिमाका दिन पूजाआजा गरी हिजो (सोमबार) रातिबाट रतेडी र आज (मङ्गलबार)बाट देहीजाँत सुरु भएको हो ।
बिहान उग्रतारा भगवतीको विधिवत पूजाआजा सम्पन्न भएपछि दिउँसो मेला लाग्ने गर्छ । अमरगढीका चार वटा गाउँबाट डोलीसहित देउरो र पूजापोखल मन्दिर पु¥याएपछि बिहान ४ बजेबाट पूजाआजा गरिने स्थानीयले बताए ।
अमरगढीको जिलोडा, खनमडा, दुमडा र छचोडालगायत चारगाउँ ध्वजा, शङ्क, घण्टा, बिगुल, भोकर, चाँदी, पित्तल, सुनका आभूषणसहितको कलश र डोलीलाई दमाह, नरुसिङ्गा बाजागाजाका साथ देउरो मन्दिरमा ल्याइने गरिन्छ । बिहानको समयमा पूजाआजापछि देउताका धामीले काँप्दै भाकाबैजाली दिन्छन् । भाकल गरे अनुसार भक्तजनले विभिन्न पूजाआजाका सामग्री, सुन, चाँदी चढाउने परम्परा रहिआएको छ । मध्याह्न १२ बजे मन्दिरबाट गाँज निकाली फाँटमा नचाउँदै चार ठाउँमा ढोग्ने प्रचलन रहेको छ ।
डडेलधुरा सदरमुकाम बागबजारबाट चार किलोमिटर टाढा रहेको उग्रतारा मन्दिरमा लाग्ने मेलामा हजारौँ दर्शनार्थी पूजाआराधना गर्न आउने गर्छन् । किंवदन्ती अनुसार २५ सय वर्षपहिले अमरगढी नगरपालिकाको लटाउली बस्ने साँकी जातीका स्थानीयले हलो जोत्दा शिलामा हलोको फाली अड्केर रगत बगेको थियो ।
सो रगत देखिएपछि देवी उत्पन्न भएर दर्शन दिएको र सोही दिनदेखि महागौरी दुर्गा र कालीको स्वरूपमा उग्रतारा भगवतीको पूजा गरिँदै आएको जनविश्वास रहेको छ । उग्रतारा माताको दर्शन गरेमा दैवीप्रकोप नहुने, सुख प्राप्ति, मनोकामना पूरा हुने जनविश्वास रही आएको छ ।
.gif)