मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

गोली सिधा छाती मै लाग्यो...


शनिबार, पुस १४ २०८०
  • 1.2K
    Shares

  • images
    images
    गोली सिधा छाती मै लाग्यो...

    उसले ताकेरै हान्यो या अन्धाधुन हान्यो
    तर गोली भने सिधा मेरो छाती मै लाग्यो
    उसले कसैको आडमा हान्यो या आफै हान्यो
    तर गोली भने सिधा मेरो छाती मै लाग्यो

    जब त्यो गोली बन्दुक बाट छुट्टिएर मेरो छाती नजिकै पुग्यो
    मेरो मन , मेरो मस्तिष्क मलाई कुनै पुरानो बस्तीमा लगेर गयो
    जहाँ म कुनै अँध्यारो ठाउँमा बसिरहेको थिए,
    मेरो आँखाबाट आँसु झरिरहेको थियो 
    आमा मुर्छित परेकी थिइन्
    भाई अक्क न बक्क जिल्ल परेको थियो
    अनि मेरो अगाडि मेरो बाउको लास थियो जो मलाई नै हेरिरहेको थियो
    भन्दै हुनुहुन्थ्यो," बाबु ,जा, मेरो लासलाई ठेगान लाउन भन्दा पनि तिम्री आमा र भाई को सास जोगाउन तँ जा ,आजै जा"
    म उनको लासलाई नै हेरिरहे ,उनले भनेको कुरा सुनिरहे
    आमा मुर्छित नै थिइन्
    भाइले केही बुझ्न सक्दैनथ्यो
    म बुझेर पनि केही गर्न सकिरहेको थिएन
    चारो नै के थियो र सुन्नु बाहेक , म सुनिरहे
    आँखाबाट आँसु आइनै रह्यो,आँखाबाट आँसु झरिनै रह्यो...

    जब त्यो गोली मेरो छाती छेडेर मुटुमा छिर्नै लागेको  थियो, तब मेरो मन मलाई त्यही पुरानै बस्तीको बस बिसौनीमा लगेर गयो
    जहाँ, सेतो वस्त्र ओढेकी मेरी आमाको आँखाबाट 
    रगतका धाराहरू बगिरहेका थिए
    भाई हाँस्दै," दादा, आउँदा भकुण्डो ल्याइदिनु ल!" भन्दै थियो
    अनि म आँखामा आएको आँसु आँखामै अड्काई ऋण मागेको चार सिक्का झोलामा बोकेर हात हल्लाउँदै Bye भन्दै थिए...

    उसले ताकेरै हान्यो या अन्धाधुन हान्यो
    तर गोली भने सिधा मेरो छाती मै लाग्यो
    उसले कसैको आडमा हान्यो या आफै हान्यो
    तर गोली भने सिधा मेरो छाती मै लाग्यो
    गोली छाती हुँदै मुटुमा छिर्यो र म ढले
    जब म ढले ,
    मृत बाउको मतर्फको हेराइ  ढल्यो
    भाइको भकुण्डो किन्न नपाउँदै खोलामा खस्यो
    आमाको आँखाबाट बगिरहेको रक्तधाराको मुहानले अमरत्व पायो...




    प्रतिक्रिया दिनुहोस