विद्यालय तथा कलेज स्तरीय पाठ्यपुस्तकहरुमा सुदूरपश्चिमसँग सम्बन्धित विषयवस्तुहरुको गलत व्याख्याका साथै विभिन्न सन्दर्भमा थुप्रै त्रुटिहरु फेला पर्दै आइरहेका छन् । बिना अध्ययन अनुसन्धान सुनेका वा अन्दाजका भरमा लेखिएका विषयवस्तुहरुले एकातिर सुदूरपश्चिमका विषयवस्तुहरुको मूल मर्ममाथि प्रहार हुँदै गइरहेको छ भने अर्कोतर्फ विद्यार्थी तथा शैक्षिक क्षेत्रमा रहेका व्यक्तिहरुमा गलत ज्ञान तथा भ्रम सिर्जना गर्ने काम पाइएको छ । एकातिर सुदूरपश्चिमको भाषा, संस्कृति, इतिहास आदिको गलत व्याखय गरिएको पाइएको छ भने अर्कोतर्फ यस क्षेत्रका विभिन्न स्थलहरुको नामकरण पनि गलत गरिएको छ। नेपाल सरकार पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत भनिएको कक्षा १२ को कुनै एक समाजशास्त्रको पुस्तकमा त यस क्षेत्रका प्रसिद्ध पर्यटकीय तथा धार्मिक स्थलहरुको नाम समेत पुरै पानाभरी गलत प्रकाशन भएको पाइयो । यस्ता त्रुटिहरुमा सैँपाल हिमाललाई साइपल हिमाल, झिलमिला ताललाई मिलमिला, रौला केदारलाई रोलावेदार, त्रिपुरा सुन्दरीलाई श्रीपुरा सुन्दरी, ग्वाल्लेक केदारलाई ग्वालेफेदार जस्ता दर्जनांै पर्यटकीय स्थलका नाम गलत लेखिएका छन् । त्यसै गरी यस क्षेत्रमा सदियौँ देखि मनाइदै आइरहेको गौरा पर्वलाई डेउडा भनेर परिभाषित गरेको पाइयो । यसरी पाठ्यपुस्तकमै लेखिएका गलत नाम र परिभाषाहरुले सुदूरपश्चिमको पर्यटकीय क्षेत्र तथा संस्कृतिमाथि प्रहार गर्ने काम भएको छ भने अर्कोतर्फ निकै विद्वान कहलिएर राष्ट्रटका ठूलाठूला पुरस्कार र पद हत्याएर बसिरहेका प्रज्ञिक बनिरहेका विद्वानहरुले समेत विभिनन अनुसन्धानात्मक अलेख तथा पाठ्यपुस्तकमा थुप्रै गल्तिहरु गरेको पाइन्छ । यस क्षेत्रको इतिहासको कुरान गर्ने हो भने त झन हाम्रो इतिहासलाई समेत बिगार गरेर लुकाउने प्रयास गरिएको छ । सुदूरपश्चिमको यथार्थ अध्ययन नगरी झन् यस क्षेत्रलाई बद्नाम मात्रै गरिएको पाइन्छ । यस क्षेत्रका विकृति र विङ्गति मात्रै खोजेर कयौं राम्रा संस्कृतिहरु समेत ओझेलमा पारी अपहेलना गर्ने केन्द्रीय प्रवृत्ति सुदूरपश्चिमका लागि घातक बन्दै गइरहेको छ। यस प्रवृत्तिलाई तुरुन्त नरोक्ने हो भने भोलिका दिनमा यो क्षेत्रको पहिचान केवल अपहेलित क्षेत्रका रुपमा मात्रै बाँकी रहने छ । यस्ता प्रवृत्ति र गैरजिम्मेवारपूर्ण कार्यका लागि हामी सबैले बेलैमा सचेत हुनु आवश्यक छ । यस क्ष्ँेत्रका शिक्षा तथा प्राज्ञिक क्षेत्रका मानिसहरुले पनि यो कुरा उठाएर यसको उचित समाधानका लागि मार्गप्रसस्त गर्नु आजको आवश्यकता हो ।
.gif)