यो प्रतिस्पर्धाको युगमा सबैभन्दा बढी भ्रष्ट भनेका पढेलेखेका नै छन् भनेर कुरा गर्दै हुनुहुन्थ्यो रामबिलास दाजु । म कुरा सुनिरहेको थिए, फेरी उहाँले भन्नुभयो “यी पढेलेखेकाहरु नै गलत काम किन गर्छन् होला ? के विद्यालयमा यस्तै सिकाइन्छ होला र ?” मलाइ पनि केही कुरा भन्न मन लागिरहेको थियो । म नजिक गए र भने, दाजु एउटा कुरा भन्छु दुःख नमान्नु होला है ।
उहाँले भन्नु भयो भन न भाइ के दुःख मान्नु, कस्ताकस्ता कुरा सुनेर त दुःख लागेन, तिम्रा कुरा पो कति कडा होलान् र ? ती पनि पचाउला नि ।
खासमा उहाँ एउटा राजनीति गर्ने मान्छे तर जनतासँग भोट माग्न कहिल्यै गएनन् किनकी उहाँ भन्नुहुन्छ जनतासँग भोट किन माग्ने ? जनताले आफ्नो लागि सोचे आफै भोट दिन्छन्, नत्र किन मागिराख्नु ? बरु जनतालाई आफ्ना रणनीति र योजना बारे पो जानकारी गराउने हो ।
गएको चुनाव मा उहाँ ५० मत मात्र कम ल्याएर पराजित हुनुभएको, तर त्यो पचास मत पनि पचास किलो मासु र पचास सारी मात्र किनेको भए आफ्नै हुन्थ्यो, के गर्नु पैसाको नाममा चक्लेट समेत किन्नु भएन उहाँले ।
धेरै नजिककै साथिहरुले नसुझाएको भने होईन तर उनी लहलहै भन्दा पनि आदर्शमा विश्वास गर्छन्, अहिलेसम्म चाहेको भए काठमाण्डौमा महल बनाइसक्थे तर आफ्नै घर पनि मर्मत गर्न सकेका छैनन् । धेरैले उनलाई दिमागै नभएको नेता भनेर पनि भन्छन् किनकी उनी जनताको चुलोमा आगो नबलेको दिन चामल र दाल लगेर भएपनि मलहम लगाउने काम गर्छन् । चुनाव नजिते पनि गाउँमा समस्या परेका बेला सबैले सम्झिने भनेको उहाँलाई नै हो । उनले एक दिन मलाई भन्नुभएको थियो “अब इमान्दारिता कतै छैन् तर एक दिन पक्कै ईमान्दारिता नचाहेर पनि आउला ।” तर त्यो इमान्दारिता कहिले आउने हो ? त्यो दिनको पर्खाइमा म पनि बुढो हुन लागिसके ।
जे होस उहाँ मेरो पनि आदर्श हो तर पनि मैले मेरो कुरा भन्न सुरु गरे ।
राजनीति राम्रो हो तर हाम्रो देशमा राजनीतिको नाममा झोले र चाप्लुसी गर्नेहरुको मात्रै दिन छ । इमान्दार भएर काम गर्नुस् भोलि मुल्याङ्कन बेइमान मान्छेको अगाडि हुन्छ, सरकारी कर्मचारी जसले इमान्दारी पूर्वक काम गर्छ उसको मुल्याङकन नै हँुदैन तर जसले पाटीको झण्डा बोक्छ र चाप्लुसी गर्छ उसको बढुवा र भनेको ठाँउमा सरुवाको व्यवस्था हुन्छ । शिक्षक जसले नपढाएर पनि हेडमास्टरको चाकरी गर्छ उसको हाजिरी नआएको दिन पनि लाग्छ तर इमान्दारी पूर्वक काम गर्नेले सधँै हेडमास्टरको किचकिच सुनिराख्नुपर्छ । करारका कर्मचारी जसले समय समयमा कल गरेर कुरा लगाए अनि तारीफ गरे उनीहरुको मूल्याङकन राम्रो, जो आफ्नो काममा मात्र ध्यान दिन्छ ऊ भने गणना भित्रै पर्दैन । खास कुरा त के भने करारको त जागिर नै खान गाह्रो, पहिले पार्टी हेरिन्छ, नभए ठुलो नेताको नजिकको मान्छे हरिन्छ, त्यो पनि नभए अलिकति तोडफोड र नारा जुलुश गर्ने खालको मान्छे चाहिन्छ, अनि मात्र जागिर खान्छ । कुनै ठाउँमा कुनै गल्तिबस राम्रो र दक्ष मान्छेले जागिर खाइहाले पनि उसको त्यो जागिरलाई निल्नु र ओकेल्नु बनाइदिन्छन् ।
मान्छे आजभोलि आफ्नो सीप र ज्ञान विकासमा कम र पहुच तथा जानपहिचान बढाउनमा बढी मिहेनत गर्छन् किनकी पढ्न भन्दा जानपहिचान र पहुच बनाउन सजिलो छ । झन अहिले त पार्टीको नाराजुलुश र विरोध सभामा सहभागी भएर दुईचार लठ्ठी पुलिसको खाएपछि जागिर सय प्रतिशत नै हो । राजनितीले यस्तो दुर्गन्ध फैलाइदिएको छ, जसलाई सफा गर्न एक पुस्ता बराबरको समय लाग्छ, त्यो पनि अबको पुस्ताले दृढसंकल्प गरे मात्र । तर त्यो संभावना न्युन छ किनकी नुनको सोझो हुनको लागि भए पनि बेइमानी गरेर जागिर खाएकाहरु बेइमानी तबसम्म गरिरहेनेछन् , जबसम्म उनीहरु पदमा आसिन छन् । त्यसैले यसको समाधानका लागि आमुल परिवर्तन हुन जरुरी छ ।
दुःख त यस अर्थमा लाग्छ कि २५ बर्ष सम्म मिहेनत गरेर पढ्यो ,आफ्नो बलबुतामा ४÷५ बर्ष मिहिनेत गरेर लोकसेवा निकाल्यो तर पनि औंठाछापहरुको जुत्ता पालिस गर्नतिर लागेको देख्दा लाग्छ अब शिक्षालयहरु जलाउनुपर्छ, ज्ञान भन्ने कुरा नै छैन, कितावहरु त केवल गुलामी बन्ने मन्त्र सिकाउने वस्तुमात्र हुन् । जागिर खानुछ पार्टी, बढूवा हुनुछ पार्टी, सरुवा हुनु छ पार्टी, बिदा बस्नु छ पार्टी, काज बस्नु छ पार्टी अनि ती नियम र नियमावली अनि ऐनहरु जलाउनु पर्दैन त ? यदि राम राज्य नै हो भने संविधान र कानुन के का लागि ?
खासमा भन्ने हो भने मुल्याङ्कन भनेको के हो भन्ने कुरा समेत थाहा नभएकाहरु मूल्याङ्कन गरिरहेका हुन्छन् । झन खासमा भन्ने हो भने त जुन व्यक्ति खास मुल्याङ्कनबाट आएकै होइन त्यही व्यक्ति अरुको मूल्याङ्कन गरिरहेको देख्दा हाँसो लागेर आउँछ । यो दुनिया नै यस्तो हो कि मेरो देशमा मात्रै यस्तो हो ? एकान्तमा भएको बेलामा सोच्ने गर्छु । एक जना दश कक्षा ४ बर्ष लगाएर कटाएपछि फाल्तु बसेको मान्छे अघिल्लो पालि वडा अध्यक्षामा जितेको थाहा पाए, टिकट पनि कसरी पायो भनेको त पूर्वमन्त्री उहाँको जेठानको सालाको मामा पर्ने रे । अनि उनले वडामा अहिले आफ्नै भतिजी र पार्टी निकट एक जनालाई जागिर दिएका छन् वडामा । उहाँले अहिले ११ को फारम १२ को फारम भर्नु भा रै छ पास हुने फिक्स नै हो भन्दै हुनुहुन्थो ।
हो यसरी हामी दिन प्रतिदिन पछाडी पर्नुको कारण के हो भने हामी सचेत भएनौ, सचेत भएकाहरु पनि पैसामा बिक्यौ, हामी आफ्नो कर्तव्य र बाटो बिरायौ, क्षणिक लोभ र लालचमा फस्यौ, अर्कालाई मात्र धारे हात लगाएर आफू केही नगरी बस्याँै, खबरदारी गर्न छौड्यौ, देखेर पनि आँखा चिम्लेर हिड्यौ, सीपयुक्त भन्दा पनि मिठो र कोमल बोल्नेहरुलाई विश्वास ग¥याँै, असल र खराब छुट्याउन गल्ति ग¥याँै, डरायाँै, बोल्न सकेनाँै आदि इत्यादि कुराले गर्दा देश बर्वादीतिर धकेलिरहेको छ । अझै पनि समय गएको छैन । नेपालको मूल कानुन संविधानमा टेकेर ऐर, कानुन, नियम र नियमावली तथा अदालत, अख्तियार र प्रशासन जस्ता राज्यका संयन्त्रहरुले जारी गरेका सम्पूर्ण नीति तथा निर्देशनहरुको पालना यदि सबैले गर्ने हो भने निश्चित रुपमा हामी समृद्ध हुन समय लाग्दैन ।
म केही बेर चुप्प लागे ।
उहाँ बोल्नु भयो “हो यस्तो विचार भएका युवाहरु पो राजनीतिमा आउनुपर्छ, सबै यसरी सकारात्मक बाटोमा लागे त असम्भव भन्ने कुरो केही पनि छैन । केवल आवश्यकता छ त हातेमालो अनि इमान्दारिताको । यहाँ त पार्टीको झोला पनि बोक्ने स्वतन्त्र विद्यार्थी युनियनको सदस्य पनि भन्ने भयो भने त वेकार हो । तिमी त मभन्दा नि अगाडि रहेछौ अबको चुनाव मैले होइन तिमी जस्तो सोच भएकाहरुले लड्नुपर्छ, मेरो पनि सहयोग हुन्छ, ल अहिले म पनि लागे है बाबु पछि भेटौँला ।”
म पनि हवस भन्दै बाटो लागे ।
.gif)