मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

नगर सफा राख्ने दायित्व कसको ?


पश्चिम प्रेस
मंगलबार, पुस २० २०७८
  • 872
    Shares

  • images
    images
    नगर सफा राख्ने दायित्व कसको ?

     

    नेपाल प्राकृतिक सुन्दरताले भरिपूर्ण राष्ट्र हो । प्रकृतिले हामीलाई विश्वमै अग्लो बनाइदिएको छ । हिमशृङ्खलाहरुदेखि लिएर लामालामा शर्प जस्तै गरी बग्ने नदी, पारोमा दही जमेजस्तै देखिने सुन्दर तालतलैयाहरु, घनाघना वनजङ्गल, आकाश छुदै गरेका सुन्दर पहाड, सुनजस्तै पहेला धान फूल्ने तराई सबै कुरा प्रकृतिले हामीलाई दिएको छ । प्रकृतिले आफ्नो तर्फबाट नेपाललाई कुनै कुराको कमी दिएको छैन । केवल कमी छ त प्रकृतिले दिएका अनुपम उपहारहरुको सदुपयोग र उपभोग, जुन प्रकृतिले नभै हामी मानिसहरुले गर्नुपर्ने हुन्छ । 
    सुदूरपश्चिमको कञ्चनपुर जिल्ला पनि प्रकृतिका यसतै अनुपम उपहारहरुले भरिएको ठाउँ हो । महाकाली नदीको किनार, चुरेको सौन्दर्यता, झिलमिला, वेदकोट जस्ता महत्वपूर्ण ताल, लिङ्गाजस्तो प्रकृतिले सिर्जेको अचम्मको कारिगरी, विभिन्न जनावरहरुले भरिएको शुक्लाफाँटा र व्यापारका लागि भारतसँगको महत्वपूर्ण नाका सबै थोक कञ्चनपुरले पाएको छ । यस क्षेत्रको प्रकृतिले हामीलाई जेजति दिए पनि हामीले यस क्षेत्रलाई दियौँ फोहरमैला बाहेक केही दिन सकेका छैनौ । 
    नेपालका व्यवस्थित शहरहरु मध्ये महेन्द्रनगर एक मुख्य शहरका रुपमा आउँछ । राजा महेन्द्रले नेपालगञ्ज र यस क्षेत्रमा वैज्ञानिक दृष्टिकोण सहितको योजना ल्याएर यी शहरहर बनेका थिए । कुकुरको घरमा कपास भनेझैँ हामी यस क्षेत्रका बासिन्दाहरुले यस महत्वपूर्ण ठाउँको संरक्षण र अझ बढी विकास गर्नुको साटो झन् यसको विनास गर्नतिर लागिरहेका छौँ । 
    उहिलेको व्यवसिथत शहर अहिले आएर फोहरी शरहका नामले चिनिन थालेको छ । हरेक गल्लि र चोकहरुका फोहरको डङ्गुर मात्र देखिन्छ । महेन्द्रनगरको मुटुमा रहेको खुला मञ्चको दुर्दशा हेर्ने हो भने जताततै फोहर नै फोहर देखिन्छ ।  नगरपालिका तथा स्थानीय समाजसेवीहरुले हरेक पटक सरसफाइ गरेर फोहर नगर्न विभिन्न बोर्डहरु राख्नुका साथै  फोहर हुने सम्भावित क्षेत्रमा विडस्टबिनहरु पनि राखिदिए तर विडम्बना जहाँ फोहर नगर्नु भनेर लेखिएका बोर्ड र डस्टबिनहर राखिएका छन् त्यतै त्यतै फोहरका डङ्गुरहरु छन् । खुला मञ्च विभिन्न सभा समारोह र खेलकुदका लागि बनाइएको भए पनि मानिसहरुले त्यसलाई दिसापिसाब गर्ने थालोको रुपमा प्रयोग गर्दै आइरहेका छन् । सभासमारोह, तथा खेल हेर्न गएका मानिस तथा व्यापारीहरु पानीका खाली बोतल, मुमफलीका, फलफूलका बोक्रा त्यतै फालिदिन्छन् । मञ्च नजिकका व्यापारीहरु पनि आफ्नो पसलको फोहर लगेर खुला मञ्चमा लगेर फालिदिन्छन् । त्यसै गरी छाडा छाडिएका पशु चौपायाहरुको चरन र बासस्थान पनि त्यही मञ्च बनेको छ ।  
    यसै मञ्चमा धार्मिक सभासमारोह हुन्छन्, राजनीतिक समारोह, खेल आदि सबै विद्वत  वर्ग तथा समाजका महत्वपूर्ण सबै व्यक्ति तथा संघ सँस्थाले यस मञ्चको प्रयोग गरी फाइदा उठाएर जान्छन् तर सरसफाइका लागि न कोही अघि सर्छन । न आवाज नै उठाउँछन् । खुलामञ्चको सरसफाइमा सहभागी हुनुको सट्टा फोहर गर्नमा साँझेदारी गर्दै आइरहेका छन् । 

    स्थानीय निकायले पनि खुला मञ्चको सफाइमा त्यति ध्यान दिएको पाइदैन । मञ्चको रेखदेख गर्ने कर्मचारीको व्यवस्था गरी फोहर गर्नेकालाई कडा कारवाही गर्न स्थानीय प्रशासनले जिम्मेवारी लिनु पर्दछ । खुला मञ्च मात्रै होइन महेन्द्रनगर शहरका विभिन्न सडक, चोक नाली आदि विभिन्न ठाउँमा फोहोर नै फोहर छ ।  
    नगर तथा खुलामञ्चको सरसफाइका लागि नगरपालिकाको ध्यान जानु आवश्यक देखिन्छ । आवश्यक कर्मचारीको व्यवस्थादेखि लिएर त्यसको सफाइका लागि हर प्रयास नगरपालिकाको जिम्मेवारी हो । चोक तथा खुला मञ्चमा डस्टबिन राख्नु, जथाभावी फोहर गर्नेलाई कारवाही गर्नु आदि विभिन्न जिम्मेवारी स्थानीय सरकारले लिनु पर्दछ । स्थानीय सरकारको जिम्मेवारी हुँदाहुँदै पनि त्यसमा अन्य नागरिकले पनि आफ्नो दायित्व निर्वाह गर्नुपर्ने हुन्छ ।   


    प्रतिक्रिया दिनुहोस