सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

कहिले होला कञ्चनपुरमा छाडा चौपाया व्यवस्थापन ? 


पश्चिम प्रेस
बिहीबार , पुस २२ २०७८
  • 643
    Shares

  • images
    images
    कहिले होला कञ्चनपुरमा छाडा चौपाया व्यवस्थापन ? 


     विगत चारपाँच वर्ष यता कैलाली कञ्चनपुरमा पशुचौपायाहरु छोड्ने काम तीव्र रुपमा बढ्दै आइरहेको छ । यस्ता छाडा चौपायामा विशेष गरी गाई र गोरु बढी देखिन्छन् । कैलाली कञ्चनपुरका बाटोघाटो, सडक, बजार तथा सार्वजनिक ठाउँमा बथानका बथान गाईगोरुहरु हिडडुल गरिरहन्छन् । मानवताको नाम निशान हराएको यस ठाउँमा मानिसहरुले दुध दिने हुन्जेल गाई घरमा राख्ने, चारो खुवाउने तर दुध दिन छोडेपछि सडकमा ल्याएर छोडिदिने प्रचलन बढेपछि गाउँबाट खेदिएका पशुचौपायाहरु बजारको शरण पर्न बाध्य छन् । बेलुकीपख गाउँगाउँबाट ठूलाठूला लट्ठीले बजार्दै गाईहरु खेदेर सडक तथा बजार क्षेत्रमा ल्याइरहेको दृश्यले कञ्चनपुरलाई पुराणको वृन्द्रावन बनाइदिएको छ । निमुखा प्राणीहरुबाट आफ्नो श्वार्थ पुरा गरी यस्तो चिसोको समयमा नाङ्गो आकाशमुनी सडकमा जाडोले कापिरहेका गाईगोरुहरुको अवस्था दयनीय बन्दै गएको छ । एकातिर गाईलाई ठुलाठुला लट्ठीले कुटेर धपाइन्छ भने अर्कोतिर गाडी मोटरको ठक्करले घाइते भइ रगत बगिरहेको हुन्छ । यसरी हजारौँको सङ्ख्यामा छोडिएका गाईहरु सडकमा चक्काजाम गर्ने तथा किसानहरुका खेतमा अन्नबाली नोक्सान गर्ने समस्याले कञ्चनपुरका जनता आतङ्कित भएका छन् । सडकमा ओहोरदोहर गरिरहेका गाइगोरुहरुले चक्का जाम गर्दा सवारी चालक एवम् यात्रुहरु पनि हैरान भएका छन् भने कतिपय अवस्थामा गाईहरुकै कारण विभिन्न दुर्घटनाहरु पनि भैरहेका छन् । दिनभरी काम गरेर थाकेका किसानहरु छाडाचौपायाको आतङ्कले रातमा पनि सुत्न पाइरहेका छैनन् बरु रातभरी खेतमा गइ अन्नबालीको पहरा दिएर बस्नुपर्ने हरेक गाउँका कृर्षकहरुले सुनाउने गर्दछन् । पशुचौपायाबाट अन्नबाली बचाउन रातभरी खेतमा बस्दा चिसोले बिरामी परेको भन्ने कृषकहरु पनि धेरै भेटिन्छन्  । गाउँबाट पिडित कृषकहरुले गाई खेदेर ल्याउँछन् सडकमा पुगाउँछन्, फेरी ती गाईहरु फर्केर खेतमा जान्छन्, फेरी सडकमा खेदिन्छन्, यही दिनचर्या बनेको छ । एकातिर छाडा वस्तुभाउको  अन्नबाली नोक्सान गर्दा कृषकहरु आतङ्कित छन् भने अर्कोतिर भोको पेट मानिसहरुको लखेटाइ, मोटरगाडिको ठक्कर र मौसम अनुसारको गर्मी र चिसोले ती निमुखा प्राणीहरुको अवस्था दैनिय बनेको छ । छाडाचौपायाको  समस्या सबैले उठान गर्दछन् तर समाधानका लागि अगाडि बढ्न भने कोही पनि सकिरहेका छैनन् । 


    बेलाबेलामा नगरपालिका तथा अन्य प्रसासनिक निकायसँग गुनासो व्यक्त गर्दा पनि व्यवस्थापनको लागि उपयुक्त स्थान र नीतिका अभावमा केही गर्न सकिएको छैन । स्थानीय प्रशासनले बेलाबेलामा छाडाचौपाया व्यवस्थापनका लागि थुप्रै रकम खर्चे पनि समस्या भने उस्तै रहेको छ । घरमा पालेका वस्तुलाई छाडा छोडेमा कारवाही गर्ने नियम बने पनि त्यसको कारवाही भने हुन सकेको देखिदैन । 

    हिन्दु धर्ममा गाई र छोरी नभएको घर अपवित्र हुन्छ भन्ने मान्यता भए पनि आजभोलि गाई भएको घर र टुपी पालेको बाहुन खोज्न कठीन भैरहेको छ । आँखिर यो समस्याको जिम्मेवार पक्ष को हो त ? कसले यी गाईहरुको व्यवस्थापन गर्छ ? यो एक चुनौतिको विषय बनेको छ । थुप्रै मानिसहरुले  गौशाला खोलेर हामी गौपालन गर्छौँ भनी विभिन्न यज्ञहरुबाट पैसा उठाएर गाईहरु एकत्रित गर्ने, त्यहाँ गाइहरु राखेबाफत मोटो रकम असुल गरी आफ्नो पेट भर्ने र तिनै गाईहरुलाई सडकमा छोड्ने गरेपछि गाई छोड्ने चलनको सुरुवात भएको धेरै मानिसहरुको गुनासो रहेको छ । यसरी धर्मको नाममा खुलेका गौशालाहरुबाटै गाई छोड्न थालिएपछि अरुले पनि गाई छोडन थालेको यो समस्या बढ्दै गएको पीडितहरुको गुनासो छ । यसरी गाईलाई व्यवस्थापन गर्न स्थानीय तहमा कुनै कानुन नबनाइन्जेल यो समस्या झनझन बढ्ने सम्भावना देखिन्छ । सम्बन्धित निकायले घरमा रहेका गाईहरुको सङ्ख्या गणना गरी दर्ता गर्ने गरेमा गाई कसले छोडेको हो पत्ता लगाउन सकिने र दोसीलाई कारवाही गर्न सकिन्छ । सबैभन्दा ठूलो समस्या हो कृषकहरुले सस्तो दरमा चारो नपाउनु । वस्तुभाउलाई खुवाउने चाराको लागि पैसा नभएर पनि मानिसहरुले घरमा भोकै मार्नुभन्दा खुल्ला छोडिदिए आफै जे होस् भन्ने मनाशयले पनि बढीजसो गाईहरु छोडिने गरेको पाइयो । यसरी छाडा पशुहरुको व्यवस्थापन हुन सकेन भने बालीनाली नष्ट हुनुका साथै सडमा सवारी चालनमा कठीनाइ आउने र सडकमा फोहर पनि बढ्ने खतरा रहेको छ । मौसम परिवर्तनसँगै चिसो अत्यधिक बढ्दै जादा खुला आकाशमुनी पिटाइ खाएर डुलिरहेका बिचरा निमुखाहरुले ठूलो कष्ट भोगिरहेको अवस्था पनि दयनीय देखिन्छ । आँखिर यो समस्याको समाधान कसरी होला चिन्ताको विषय बनेको छ । समयमै यसबारे कदम नचालिएमा खाद्यान्न सङ्कट पनुका का साथै भोक र चिसोले मरेका गाईहरुको दुगन्धले विभिन्न किसिमका रोगहरु पनि ननिम्त्याउला भन्न सकिदैन । यसकारण छाडा चौपायाको उचित व्यवस्थापनमा स्थानीय सरकार, समुदाय र संघसँस्थाले बेलैका सोच्नु जरुरी छ ।  

     


    प्रतिक्रिया दिनुहोस